राप्ती र रत्ननगर नगरपालिकालाई नेकपाको सहयोग
चितवन । नेकपा नगर कमिटिहरुले चितवनको राप्ती र र रत्ननगर नगरपालिकालाई आर्थिक सहयोग गरेका छन् । कोरोना संक्रमणपछि स्थानीय तहले स्थापना गरेको विपद राहत कोषका लागि दुई नगरपालिकाका नेकपा नगर कमिटिले मंगलबार आर्थिक सहयोग गरेका हुन् ।
नेकपा राप्ती नगर कमिटिका अध्यक्ष समेत रहेका नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार नगरपालिकाको कोषमा ३ लाख ४ हजार ९८५ रुपैयाँ सहयोग गरिएको हो । नेकपा नगर इन्चार्ज मानवहादुर स्याङ्वो, नगर अध्यक्ष लामासहितको टोली नगरपालिका प्रमुख प्रभा बराललाई सो रकम सहयोग गरेका थिए ।
यता रत्ननगर नगरपालिकालाई नेकपा रत्ननगर नगर कमिटिले १ लाख ७८ हजार एक सय रुपैया सहित जिन्सी पनि सहयोग गरेको छ । अतिविपन्न परिवारलाई वितरण गर्न ३ क्वीन्टल चामल र ५० किलो दाल नगर प्रमुख नारायण वनलाई हस्तान्तरण गरिएको नगर कमिटि अध्यक्ष कुल प्रसाद लामिछानेले बताए ।
सहयोग हस्तान्तरणमा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण प्रसाद खनाल, प्रदेश सांसद समेत रहेकी नेकपाकी नेतृ कंचन खनाल, नगर इन्चार्ज सुवोध अम्गाई लगायत उपस्थित थिए ।
पूर्वी चितवनका खैरहनी नगरपालिका र कालिका नगरपालिकालाई सम्बन्धित नगरपालिकाका नेकपा नगर कमिटिले यसअघिनै आर्थिक सहयोग गरिसकेका छन् भने नेपाली कांग्रेस खैरहनी नगर समितिले पनि खैरहनी नगरपालिकालाई ५१ हजार रुपैयाँ सहयोग गरिसकेको छ ।