किसानको पसिना खेतबारीमै सुक्यो, लकडाउनमा भारतबाट ४ अर्बको तरकारी आयात

काठमाडौं । नेपाली किसानले उत्पादन गरेको तरकारी बारीमा सुकिरहेको छ, सडिरहेको छ  । तर, भारतबाट निर्वाध आएको तरकारी सीधै भान्सामा पुगिरहेको छ । नेपाली किसानको उत्पादन उठाउन नमान्ने बिचौलिया व्यापारीले फोनकै भरमा भारतबाट तरकारी मगाएर नाफा कमाइरहेका छन् । नेपाली किसानको पसिना खेतमै सुक्दा सरकार मूकदर्शक छ ।

लकडाउनका कारण सहरी क्षेत्रमा तरकारीको उपभोग करिब ५० प्रतिशतसम्म घटेको छ । यस्तो अवस्थामा मुलुकभित्रै उत्पादित तरकारीले उपभोक्ताको माग धान्नुपर्ने हो । सामान्य अवस्थामा हुने तरकारी खपतमा स्वदेशी र आयातीत तरकारीको हिस्सा आधा–आधा हुन्छ । तर, अहिले तरकारीको उपभोग घटे पनि आयात घटेको छैन, मागको सबैजसो हिस्सा आयातीत तरकारीले कब्जा गरेपछि स्वदेशी किसान आफ्नै तरकारीबारीमा डोजर चलाउन बाध्य बनेका छन् ।

नेपाली तरकारी बजारको आधा तरकारी भारतबाट मात्र आउने गर्छ । गत फागुनमा मात्र पनि कुल खपतको ४८.२७ प्रतिशत तरकारी भारतबाट आयात भएको थियो । लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका २ चैतदेखि नियन्त्रित भएका हुन् ।

चैतको तथ्यांक आधार मान्दा नेपालमा दैनिक नौ करोड ३७ लाख रुपैयाँको तरकारी आयात भइरहेको छ । त्यसैले लकडाउनयता २३ वैशाखसम्म ४२ दिनमा चार अर्ब १२ करोड ५५ लाख रुपैयाँको तरकारी आयात भएको मान्न सकिने भन्सारकै एक अधिकारीले बताए । तरकारी अत्यावश्यक वस्तु भएकाले आयात निर्वाध रूपमा भइरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालको भनाइ छ ।

चालू आर्थिक वर्षको नौ महिनामा अर्थात् चैत मसान्तसम्म मुलुकमा कुल २३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँबराबरको तरकारी आयात भएको छ । त्यसअघि फागुनसम्ममा २० अर्ब ५८ करोड १३ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार आलु र प्याजमा मुलुक परनिर्भर छ । अहिले पनि सहरी मागको ९५ प्रतिशतभन्दा बढी आलु र प्याज भारतबाट आयात भइरहेको छ । ३ देखि ५ प्रतिशत प्याज चीनबाट र सोही परिमाणको आलु भुटानबाट आयात हुने गरेको छ ।

सामान्य अवस्थामा देशभर दैनिक करिब १७ सय मेट्रिक टन तरकारी आयात हुने गरेको छ । त्यसमध्ये आलु, प्याज मात्र एक हजार मेट्रिक टन आयात हुन्छ । भन्सार विभागको तथ्यांकले लकडाउनपछि तरकारीको आयात सामान्य मात्र घटेको देखाउँछ, नयाँ पत्रिकामा समाचार छ । ११ चैतमा लकडाउन सुरु भएयता २० वैशाखसम्म ५३ हजार पाँच सय ६९ मेट्रिक टन तरकारी आयात भएको छ । यो हिसाबले अहिले पनि दैनिक औसत एक हजार तीन सय ४० मेट्रिक टन तरकारी आयात भइरहेको छ । ‘अहिले आयातीत तरकारीमध्ये आलु, प्याज ६ सय ५० टनजति, बाँकी गोलभेँडा, कागती, भिन्डी, परवल, करेला, खुर्सानी, काँक्रोलगायतका ताजा तरकारी आइरहेको छ,’ घिमिरेले भने ।

बजारमा अहिले कुनै पनि तरकारीको अभाव छैन, उपभोक्ताले खोजेजस्तो सबै तरकारी उपलब्ध भइरहेको पनि घिमिरेले बताए । काठमाडौंमा मात्र दैनिक एक सय ५० टन प्याज र दुई सय टन आलुका खपत भइरहेको उनले बताए ।

व्यापारीहरूले नेपाली किसानको उत्पादन किन्नुभन्दा भारतबाट आयात गर्नु सजिलो मान्ने गरेका छन् । काठमाडौंलगायत सहरी क्षेत्रका उपभोक्ताकहाँ पुग्ने तरकारी संकलनका लागि व्यवसायीले निश्चित ‘च्यानल’ प्रयोग गर्छन् । पहिले नै तय भएका ‘च्यानल’ भत्किएका छन् भने नयाँ ‘च्यानल’ बनेका छैनन् । त्यसैले विभिन्न जिल्लामा उत्पादित तरकारी बजारसम्म आउन सकेको छैन ।

चितवनको किसानले उत्पादन गर्ने तरकारी भरतपुरको तरकारी तथा फलफूल बजारमा जान्छ । अहिले सो बजार बन्द छ, तर त्यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी काठमाडौं ल्याउन कुनै पहल भएको छैन । ‘भारतमा तरकारी ल्याउन अवरोध छैन । त्यसैले पहिलेदेखि उताबाट ल्याउने व्यवसायीले ल्याइरहेका छन् । तर, स्वदेशका तरकारी संकलन केन्द्र बन्द भएका छन्, त्यसैले किसानको तरकारी उठेको छैन,’ एक व्यवसायीले भने, ‘नेपालका किसानलाई छुट्टाछुट्टै सम्पर्क गरेर तरकारी संकलन गर्नुभन्दा भारतमा बनिबनाउ च्यानलमा फोन गरेर तरकारी मगाउन सजिलो छ ।’

व्यापारीले स्वाभाविक रूपमा नाफा हेर्ने भएकाले नेपाली किसानको तरकारी संकलनबारे सरकारले नीति बनाउनुपर्ने उनको भनाइ छ । ‘किसानलाई कसरी राहत दिने भनेर व्यापारीले सोच्ने होइन, सरकारले सोच्ने हो । सरकारले बजार व्यवस्थित गरेमा किसानको तरकारी आफ्नै च्यानलबाट बिक्री हुन्छ,’ अर्का व्यापारी भन्छन् । आयातीत तरकारी ल्याउन पहिलेदेखि नै जनशक्ति, ट्रक, बजारलगायतका पूर्वाधारमा ठूलो लगानी भएकाले नियमित रूपमा आयात गर्नुको विकल्प नभएको व्यवसायीहरूको भनाइ छ ।

राजधानीको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले थोक मात्र कारोबार भइरहेको छ । भिडभाड कम गर्न महानगरपालिकासँगको समन्वयमा खुद्राको पसल अन्यत्र सारिएको छ । यसले आपूर्तिमा झन् समस्या भएको व्यवसायीको भनाइ छ । कालिमाटीका थोक तरकारी व्यवसायी प्रकाश गजुरेलले अन्यत्र खुद्रा बजार हुँदा कहाँबाट कसरी तरकारी आइरहेको छ भन्ने यकिन हुनै नसकेको बताए । ‘कालिमाटीबाहिरका विभिन्न ११ ठाउँमा खुद्रा बजार लगाइएको छ । त्यहाँ कहाँ–कहाँबाट कति तरकारी कसरी आइरहेको छ भन्ने थाहै हुँदैन,’ गजुरेलले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *