पारिश्रमिक दिए/नदिएको अनुगमन गर्दै श्रम विभाग
काठमाडौं । होटल व्यवसायीले आफ्ना श्रमिक तथा कर्मचारीलाई गत चैत महिनाको तलब दिए/नदिएकोबारे श्रम विभागले अनुगमन गर्ने भएको छ ।
सम्पूर्ण उद्योग प्रतिष्ठानले आफ्ना कर्मचारीलाई चैत महिनाको तलब अनिवार्य दिन सरकारले निर्देशन दिए पनि केही होटल व्यवसायीले पारिश्रमिक नदिएको गुनासो आएपछि विभागले अनुगमन गर्न लागेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा व्यवसायीले मुलुकभर रहेका सम्पूर्ण होटलमा कार्यरत श्रमिकलाई तत्काल चैत महिनाको पारिश्रमिक दिने विषयमा सहमति जनाएका थिए ।
होटल एशोसियशन नेपाल एवं संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले उक्त कार्यको सहजीकरण गर्ने र सोको अनुगमन श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम तथा रोजगार कार्यालयले गर्ने निर्णय भएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।
सरकारले प्रदान गरेको आर्थिक सुविधाको सदुपयोग गरी श्रमिकको पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ । रासस