६ जना संक्रमितलाई एकैदिन बिदाइ गर्दाकाे क्षणः युद्ध जितेको आभास !
- सुजता निङ्लेकु
विराटनगर । ‘मुलुक लकडाउन छ । मन्दिरहरू बन्द छन् । अनि भगवान ? भगवान सेतो कोट लगाएर अस्पतालमा उभिएका छन्, नागरिकको जीवन तथा स्वास्थ्य रक्षाका लागि…!’
कोरोना महामारीका कारण विश्वका कयौं शक्तिशाली राष्ट्रहरु रोइरहेको यो समय स्वास्थ्यकर्मी र सुरक्षाकर्मी एक अदृश्य भाइरसँगको युद्धको अग्रपंक्तिमा छन् । त्यसकारण पनि माथिको भनाइ सान्दर्भिक छ ।
उनीहरु बिरामी नागरिकलाई स्वस्थ बनाउन लागि परेका छन् । जसकारण बिरामीहरु मृत्युको मुखबाट फुत्किन सफल भएका छन् । प्रदेश नम्बर १ को कोशी अस्पताल कोरोना उपचार केन्द्रमा उपचार भइरहेका कोरोना संक्रमित ६ जना बिरामीले पनि कोरानालाई जिते । चिकित्सकहरुलाई आफैँले युद्ध जितेझैँ आभास भएको छ ।
‘वैशाख ५ गते राती १ बजे उदयपुरबाट आएका कोरोना संक्रमित बिरामीलाई अस्पतालमा भित्राइरहँदा हाम्रो टिम नै त्रसित्र थियो तर त्यो भन्दा धेरै आत्मबल उच्च थियो’, कोशी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्राले अनुभव सुनाइन् ।
कोरोना अस्पतालमा खटिएको टिम सहयोगी भावनाले उपचारमा एकजुट भएकै कारण ६ जना बिरामी २० दिनमा नै निको भएको भन्दै उनले खुशी व्यक्त गरिन् । उनलाई उपचारका लागि आफू खट्न र टिमलाई खटाउन चुनौतीको विषय बन्यो तर कोही कसैले कसर छोडेनन् उपचारमा । त्यसैले त मिल्यो नि सफलता !
जब मंगलबार साँझ एक जना बिरामीले आफ्नो मोबाइलमा म्यासेज गरे– ‘डा. साहेब दिल्लीमे कुछ काम होगा तो हमे याद करे ।’ बिरामीको यो प्रतिक्रियाले खुशी र थप हौसला मिलेकाे छ डा. संगिता मिश्रासहितकाे टिमलाई ।
उनी बिरामीको अनुरोधमा नै मस्जिदसम्म छोड्न गएकी थिइन् । एउटा चिकित्सकको कामको प्रतिकृया बिरामीले दिँदा आत्मसन्तुष्टि मिल्ने उनी बताउँछिन् । उनले भनिन्, ’बिरामी निको भएर उनीहरुको मुखबाट धन्यवादको शब्द सुन्न पाउनु नै यो अवस्थामा एउटा युद्ध जितेको आभास हुने रहेछ ।’
रोगको प्रकृति नयाँ । त्रासको माहोल र संकटकालिन परिस्थितिमा पनि निःस्वार्थ भावले डाक्टर दिपक सिग्देल लगायतका टिमले अहोरात्र खटेर काम गरे । त्यो मेहनतको प्रतिफल रहेको उनले बताइन् ।
उनीले भनिन्, ‘कति स्टाफहरुलाई घरधनीले अन्तै डेरा सर्न समेत भनेका थिए तर कति पनि मनोबल नघटाई काम गर्दा पाएको सफलता हो यो ।’
कोरोना भाइरस संक्रमणको महामारी बढेसँगै प्रदेश सरकार, संघिय सरकारबाट हौसला आइरहेको उनले बताइन् । संघिय सरकार, प्रदेश सरकारले कोरोना उपचार केन्द्र अस्पताल निर्माण नगरिदिएको भए डाक्टर एक्लै केहि गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
निको भएर गएका ६ जना बिरामीलाई १४ दिनसम्म मस्जितमा फरक, फरक कोठामा राखिने र १४ दिन पश्चात् पुनः उनीहरुको स्वाब परिक्षण गरिने उनले जानकारी दिइन् ।