नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। बैठक केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले केहीबेर अघि बैठक सुरु भएको जानकारी दिए।

बैठकमा बिहीबार सुरु हुने पार्टी स्थायी समितिमा पेस गर्ने राजनीतिक प्रतिवेदन र अन्य एजेण्डाहरुमा छलफल हुने बुझिएको छ। बैठक अघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल समेत भएको छ। उनीहरुबीच स्थायी समिति बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल भएको बताइएको छ।

पहिलाको सहमति अनुसार ओली र प्रचण्डबीच कुरा नमिलेपछि स्थायी समिति बैठकमा पेस गर्ने दस्ताबेज अहिलेसम्म तयार हुन नसकेको एक स्थायी समिति सदस्यले जनाएका छन्। शनिबारको सचिवालय बैठकपछि नेकपाभित्रको विवाद साम्य भएको दाबी गरिए पनि सचिवालयमा उक्त दिन भएका सहमति लिपिबद्ध गर्ने विषयमा अहिले पनि शीर्ष नेताहरुबीच विमति छ।

पार्टीलाई एकताबद्ध राख्ने, पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्यमान्यताअन्तर्गत सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशन, नीति–निर्देशनमा सरकार सञ्चालन गर्ने, सरकारले देश र जनताको पक्षमा समाजवादउन्मुख समृद्धि वा सामाजिक–आर्थिक रूपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा अघि बढ्ने निर्णय पनि शनिवारको सचिवालयको निर्णयमा थियो।

नेकपाका ती स्थायी समिति सदस्यका अनुसार प्रधानमन्त्रीसमेत ओलीले पहिलाको सहमति कार्यान्वयन गर्न आनाकानी गरेका छन्। प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्यहरू बिहीबारको बैठकमा ‘एक व्यक्ति एक पद’को अवधारणालाई सशक्त रूपमा उठाउने निष्कर्षमा पुगेका छन्।

गत मंसिर ४ गते दुई अध्यक्षको कार्यविभाजन भएको थियो। प्रधानमन्त्री ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने सहमति भएको थियो। तर, सहमति कार्यान्वयन नभएको भन्दै प्रचण्डले असन्तुष्टी जनाउँदै आएका छन्। पछिल्लोपटक सो सहमतिबाट ओली पछि हटेको नेताहरु बताउँछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *