नेपालमा थप १७ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं। नेपालमा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप १७ जनामा कोरोना संक्रमण देखिएको हो।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमितहरु दुई महिनादेखि ६६ वर्षसम्मको उमेर समूहका रहेको बताए। अहिले सङ्क्रमण पुष्टि हुनेमा एक दुईमहिने शिशु पनि छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधवार कोरोना संक्रमण देखिएका १७ मध्ये ७ जना महिला र १० जना पुरुष रहेका छन्। उनीहरू नारायणी उपक्षेत्रीय अस्पतालमा छन्। योसँगै संक्रमितको सङ्ख्या ९९ जना पुगेको छ। जसमध्ये २२ जना डिस्चार्ज भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले यसअघि कोभिड-१९ मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका तीन जनामा पुन: कोरोनाभाइरस देखिएको बताए। उनीहरू काठमाडौं, रौतहट र पर्साका हुन्। उनीहरूमा सङ्क्रमण देखिनुका कारणबारे थप अध्ययन भइरहेको उनले बताए।

अहिलेसम्म प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, वागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा पाँच जना संक्रमित भेटिएकाका छन्। अहिलेसम्म कर्णाली प्रदेशमा भने संक्रमित देखिएका छैनन्। मन्त्रालयका अनुसार अहिलेसम्म देशैभर पीसीआर विधिबाट १४ हजार ९६ पुगेको छ। आरडीटी किट विधिबाट ५२ हजार ९७० पुगेको छ। आजसम्म देशभर आइसोलेसनमा एक सय ३६ जना रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *