प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच टेलिफोन संवाद

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलिफोनमा कुराकानी भएको छ। देउवाले बुधबार प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर कोरोना भाइरस परीक्षणको दायरा वृद्धि गर्न ध्यानाकर्षण गरेका हुन्।

देउवाले अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नु सरकारको कर्तव्य रहेको स्मरणसमेत गराएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। ‘कुवेत सरकारको सेल्टरमा राखिएका करिब ३ हजार एवं मध्यपूर्वका अन्य देशमा अप्ठ्यारोमा रहेका र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्धार गर्नेबारे सरकारले ब्यवस्थित योजना बनाएर क्रमशः कार्यान्वयन गर्नुपर्छ,’ देउवाले भने।

विदेशमा अप्ठेरोमा परेका नेपालीलाई उद्धार गर्न देउवाले माग गरेका छन्। भारतीय सीमा क्षेत्रमा क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याउन, प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर मात्रै घर जान दिने गरी व्यवस्थित र कडाइका साथ कार्य गर्न/गराउन प्रधानमन्त्रीसमक्ष सभापतिले आग्रह र माग गरेको पौडेलले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *