पश्चिमी वायुको प्रभावले चिसो अझै कायम, आज पनि चट्याङसहित वर्षा

काठमाडौं । देशमा पश्चिमी, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावले बदलीसँगै वर्षा भइरहेको छ । साथै बंगालको खाडी र अबर सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रिमनसुन सक्रिय रहनुका साथै बंगालको खाडी र अबर सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा भएको हो । आज पनि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पश्चिमी वायुको प्रभावले चिसो कायम
अघिल्ला वर्षहरूमा निकै गर्मी भइसक्ने समयमा पनि यसपालि भने नेपालका कतिपय क्षेत्रमा खासै गर्मी अनुभव गरिएको छैन । अघिल्ला वर्षहरूका तुलनामा यसपालि चैत–वैशाखमा नै धेरै वर्षा पनि भएको छ ।

राजधानी काठमाडौंसहित देशका विभिन्न भागहरूमा केही सातादेखि केहीबेर वर्षा हुने र फेरि घाम लाग्ने गर्दै मौसम बदलिरहेको छ । मौसम विज्ञान विभागका अनुसार यसपालि नेपालका अधिकांश भागहरूमा एप्रिल र मे महिनाको सुरुमा अरू वर्षको औसतभन्दा बढी वर्षा भएको छ ।

त्यस्तै तापक्रम पनि अरू वर्षको औसतभन्दा कम देखिएको छ। मौसमविद्हरूका अनुसार यसपालि पश्चिमी वायुको प्रभाव ढिलोसम्म कायम रहँदा नेपालमा गर्मी हुने बेलामा पनि चिसो कायम रहेको हो ।

पहिले पहिले यो बेलासम्म पश्चिमी वायु उत्तरतर्फ लागिसकेको हुन्थ्यो तर यसपालि अझै उत्तरतिर नलागेकाले वर्षा भइरहेको छ । त्यसैको प्रभावले चिसो पनि जारी रहेको मौसमविदको भनाई छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख २५गते (बिहीबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।देशको पश्चिमी भू-भागका केहि स्थानहरूमा र मध्य/पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रहने छ। देशको मध्य/पूर्वी भू-भागका केहि स्थानहरूमा र पश्चिमी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख २६ गते (शुक्रबार)

दिउँसोः देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख २७ गते (शनिबार)

दिउँसोः देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ ।देशको पश्चिमी /मध्य भू-भागका केहि स्थानहरूमा साथै पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *