भिडभाड बढेपछि प्रशासनले भन्यो- ‘रोगको संक्रमण नहुने गरि सेवा देउ, कि बन्द गर’
चितवन । चितवनमा बैंक, वित्तिय संस्था र केहि पसलमा अत्याधिक भिड हुने गरेको र सामाजिक दुरी समेत कायम नहुने गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले त्यस्ता संस्थाहरुलाई भिड व्यवस्थापन गरेर सेवा दिन सूचना जारी गरेको छ ।
सेवालिन आउने ग्राहकहरुलाई रोगको संक्रमण नहुने गरि भरपर्दो व्यवस्थापन गरेर मात्रै सेवा दिन आग्रह गरिएको छ । सेवाग्राहीलाई सुरक्षित तवरले सेवा दिन नसक्ने बैंक, बित्तिय संस्था, पसलहरु बन्द गर्नुको विकल्प नरहेको सूचनामा उल्लेख गरिएको छ ।
बैंक, वित्तिय संस्था र केहि पसलहरुमा अस्तव्यस्ता देखिएको, सम्बन्धित संस्था तथा पसलहरुले अन्य बेला जसरी नै संचालन गरिरहेको, रोग संक्रमण फैलिन नदिने कुनै किसिमको सावधानी नअपनाएको भेटिएको र गुनासो धेरै आएकाले उनीहरुलाई जिम्मेवार बनाउन सूचना जारी गरिएको हो ।
सूचनामा उल्लेखित निर्देशन पालन नगर्नेहरुको सेवा बन्द गरिने जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।