आफ्नो असफलता ढाकछोप गर्ने षड्यन्त्रमा सरकार लाग्योः विप्लव
काठमाडौं। प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकार हिंसा र आतंक मच्चाउन लागिपरेको आरोप लगाएका छन्। आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न सरकारले आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरिरहेको विप्लवको भनाइ छ।
पछिल्लो समय विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख अनिल शर्मा ‘विरही’, इलाम जिल्ला इञ्चार्ज पुष्प कोइराला लगायतका नेता कार्यकर्ता पक्राउ परेका छन्। महासचिव विप्लवले एक विज्ञप्ति जारी गरी सरकार आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न यस्ता खालका हर्कत गरिरहेको आरोप लगाएका हुन्।
‘कोरोनाको महामारीमा जनताले भोग्नुपरेको समस्यालाई ध्यान दिँदै पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै केपी सरकारले आतंक र हिंसा मच्चाउन खोजिरहेको छ। आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानव अधिकार कर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ’, विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विप्लवले सरकारका यस्ता हर्कतको प्रतिरोधका लागि तयार रहन पार्टी पङ्क्तिलाई निर्देशन समेत दिए। उनले भनेका छन्, ‘केपी सरकारको अमानवीय दमनको व्यापक भण्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन पार्टी पङ्क्तिलाई निर्देशन गर्दछ।’
विप्लवले बिना कारण गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्तालाई बिना सर्त मुक्त गर्नसमेत माग गरेको छन्।