कर्मचारीलाई एक पक्षीय रुपमा ‘बेदखल’ गर्नु सही होइनः मन्त्री भट्टराई

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्रमिकलाई कामबाट निकाल्ने पर्यटन व्यवसायीको निर्णय सही नभएको बताएका छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न घोषित लकडाउनपछि होटेल सङ्घ नेपाल (हान)ले श्रमिकलाई केही प्रतिशत रकम पारिश्रमिक दिएर होटेल बन्द गर्ने निर्णय गरेको थियो।

पर्यटन मन्त्री भट्टराईले यस्तो अवस्थामा कर्मचारीलाई ‘बेदखल’ नगर्न आग्रह गरे। उनले होटेल व्यवसायी, श्रमिक र सरकार मिलेर अगाडि बढ्नुपर्ने बताए। बिहीबार सञ्चारकर्मीसँग मन्त्री भट्टराईले भने, ‘हामीले भनेका छौँ, कुनै पनि व्यवसायीले एक पक्षीय रूपमा कर्मचारीलाई बेदखल गर्न पाइँदैन, यो गलत हो। छलफल गरौँ, सरकारले पनि केही सहयोग गर्न तयार छ।’

कोरोना भाइरसबाट परेको प्रभावलाई कम गर्नका लागि व्यवसायीहरू र श्रमिकहरूको हितमा केही पुनः स्थापना प्याकेजलगायतका विषयमा सरकारले काम गर्ने उनले बताए। मन्त्रालयले निश्चित रकमसम्म व्यवसाय सुचारु गर्नका लागि विना धितो सहुलियत दरको कर्जा उपलब्ध गराउने, पुरानो ऋणको पुनर्तालिकीकरण गर्ने, करमा छुट दिनेलगायतका विषयमा सहयोग गर्ने मन्त्री भट्टराईको भनाइ छ।

पर्यटन क्षेत्रको विकासका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत १० वर्षे रणनीति घोषणा गर्न लागिएको समेत उनले बताए। मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० स्थगित भइसकेको अवस्थामा सन २०२१ देखि २०३० सम्मलाई पर्यटन दशकको रूपमा मनाउने गरी घोषणा गरिने समेत बताए। उनले सन २०२० लाई सर्भाइभको वर्ष, २०२१ लाई रिभाइभ र २०२२ पछिका वर्षहरुलाई नर्मल पोजिसनको वर्षको रूपमा लिएर काम गरिने समेत बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *