देशभर दीप प्रज्वलन : विश्व शान्तिको प्रार्थना (फोटो फिचर)

काठमाडौं । आज साँझ ७ बजे देशभर शान्ति दीप प्रज्वलन गरिएको छ । भगवान् गौतमबुद्धको २५६४ औँ जन्म जयन्तीमा विश्व शान्तिको कामना गर्दै आज देशभर दीप प्रज्वलन गरी मनाइएको छ ।

भगवान गौतमवुद्धले संसारभर ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ जस्ता अनेकौं शान्तिका सन्देशफैलाएका छन्। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

यस वर्षको वुद्ध जयन्ति कोभिड १९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा हुने गरी मनाइएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीहरुलाई अपिल गरेका थिए ।

गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गरौँ भन्ने आग्रहका साथ प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमणबाट दिवंगत भएकाहरु प्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयम्सेवीहरु र यस कार्यमा सहयोगी हात बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन घरघर तथा संस्थाहरुमा द्वीप प्रज्वलनका लागि अपिल गरेका थिए ।

बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा पनि दीप प्रज्वलन तथा विश्व शान्तिको प्रार्थना गरिएको छ । सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा वुधबार विहारका भिक्षुहरुले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको चिरशान्तिको कामना तथा संक्रमितको स्वास्थ्यलाभको काम गर्दै प्रार्थना गरेका छन् ।

 

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि गरिएको बन्दाबन्दीले कार्यक्रमको तयारी गर्न नसकिने र जोखिम बढ्ने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा वुद्ध जयन्तीका सबै कार्यक्रम स्थगन गरी घरघरमा दीप प्रज्वलन गरिएको हो ।

बुद्धजयन्तीका दिन लुम्विनीमा बिहीबार दुई हजार ५६४ दीप प्रज्वलन गर्ने तयारी गरिएको थियो ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्षअघि कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए ।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतमबुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको थियो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडका थिए ।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एशियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ ।

 

विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *