उपत्यका प्रवेशमा कडाइ, नागढुंगाबाट फर्काइयो चार सय गाडी
काठमाडौं । कोरोनाको जोखिम बढ्ने भन्दै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिएको छ । चार दिनको अवधिमा उपत्यका छिर्न खोज्ने ४ सय १६ सवारीसाधन नागढुंगा नाकाबाट फर्काइएको छ ।
पहुँचका आधारमा पास लिएर विनाकाम उपत्यका छिर्न खोज्ने सवारीसाधनलाई प्रहरीले फर्काएको हो । जसमध्ये धेरैजसोले पास लिएका थिए । २२ वैशाखमा ७४, २३ गते १०३, २४ गते २२७ तथा २५ गते ४९ वटा सवारीसाधन फिर्ता पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
तराईका केही जिल्लामा कोरोना संक्रमण विस्तार भएपछि अत्यावश्यक सेवाबाहेकको अवस्थामा उपत्यकाबाहिरबाट आउन रोक लगाइएको हो ।
कतिपय एम्बुलेन्सले समेत बिरामी भनेर यात्रु बोक्ने गरेको थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए । विगतमा उपत्यकाबाट बाहिरिने धेरै हुनेमा पछिल्लो केही दिनमा भित्रिन खोज्ने बढेपछि कडाइ गरिएको हो । उपत्यकाका अन्य नाकामा पनि विनाकाम उपत्यका छिर्न खोज्ने यात्रुलाई रोकिएको छ ।