लकडाउनः घर हिँडेका मजदुरलाई मालगाडीले किच्यो, कम्तिमा १६ को मृत्यु !
काठमाडौं । भारतको महाराष्ट्रमा शुक्रबार मालगाडीले किच्दा घर हिँडेका आप्रवासी १६ मजदुरको मृत्यु भएको छ भने पाँच जनालाई औरगाबादको सिभिल अस्पतालमा भर्ना गरिएको छ ।
अउरंगावाद जिल्लाको घोडेजाल्गाउँमा रेलको लिकमा सुतेका ती आप्रवासी मजदुर घर जान हिँडेका थिए । सडकबाट हिँड्दा प्रहरीले सोधपुछ गर्ने र जान नदिने ठानेर उनीहरूले रेलको लिकलिकै यात्रा तय गरेका थिए ।
बिहान साढे ५ बजेतिर नान्डेदबाट मनमान जान लागेको पेट्रोलिय पदार्थ बोकेको रेलले उनीहरूलाई किचेको दक्षिण–मध्ये रेलवेका चिफ पीआरओले पुष्टि गरे । उनीहरु सबै अर्को जिल्ला जल्नाको स्टिल कम्पनीका काम गर्थे । काम बन्द भएपछि घर हिँडेका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । मोदीले ट्वीट गर्दै भनेका छन्– ‘महाराष्ट्रको अउरंगावादमा भएको रेल दुर्घटनामा मानिसको मृत्यु निकै दुखद् छ । रेलमन्त्री पीयूष गोयलसँग कुरा भएको छ । उनको नजर घटनामा केन्द्रित छ । हरसम्भव सहयोग गरिनेछ ।
भारतमा कोरोनाभाइरसको संक्रमण रोक्न गत मार्च २५ देखि देशव्यापी लकडाउन गरिएको छ । अकस्मात गरिएको लकडाउनका कारण आप्रवासी मजदुरहरू विभिन्न राज्यमा अलपत्र परेका छन् ।