कोरोना परीक्षण गरेका सांसदहरू संसद अधिवेशनभर काठमाडौंमै रहनुपर्ने !

काठमाडौं । आजबाट संघीय संसदमा बजेट अधिवेशन चल्दैछ । संसदको छैटौँ अधिवेशन अपराह्न ४ः०० बजे बस्ने तयारी गरिएको छ । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

आजको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ ।

संसद् अधिवेशनमा सहभागी सांसदहरूका लागि विभिन्न आचारसंहिता बनाइएको छ । आफ्नै घरमा सेल्फ आइसोलेसनमा बस्नुपर्नेदेखि कोरोना परीक्षणपछि आफ्नो जिल्ला समेत जान नपाउने नियम बनाइएको छ ।

पीसीआर विधिबाट कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएका सांसदहरूले मात्र बैठकमा भाग लिने पाउनेछन् । त्यस्तै सामाजिक दूरी कायम गरेर पालैपालो प्रवेश गर्नुपर्नेछ ।

यस्ता छन् आचारसंहिता

सबै सहभागीहरुले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनु पर्नेछ ।

मेडिकल मास्कको प्रयोग बैठक अवधिभर सबैले अनिवार्य रुपमा गर्नुपर्नेछ ।

आफूलाई स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या (ज्वोरो, खोकी, थकान, शरीर दुखाइ) देखा परेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्नेछ ।

सकेसम्म सहयोगी नलिई आउनुपर्नेछ ।

बैठक अवधीभर घरमा गई स्वयम् एकान्तवासको नियमहरुको पालना गर्नु पर्नेछ ।

संसद अधिवेशनभर काठमाडौंमै रहनुपर्नेछ ।

बैठक कक्षभित्र अपनाइने सर्तकताका उपायहरु

सांसदहरु तोकिएको कुर्सीमा मात्र बस्नु पर्नेछ । अधिवेशन अवधिभर एउटै सिटमा बस्ने ।

सकेसम्म समूहगत छलफल नगर्ने, गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्ने ।

बैठक हलबाट बाहिर निस्कनु परेमा पुनः प्रवेश गर्दा साबुन–पानी वा स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने ।

प्रधानमन्त्री, मन्त्री, सभामुख र दलको नेताबाहेक अन्य सांसदले आम रुपमा रोष्टम प्रयोग नगर्ने ।

संसद भवनमा प्रवेश गर्दा र फर्कंदा फरक ढोकाको प्रयोग गर्ने ।

दर्शकदीर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने ।

मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने ।

सांसदले आफू बसेको सिटमा रहेको माइक प्रयोग गर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *