प्रधानमन्त्री ज्यू ! अति भएन र ! यहाँ भन्दा कति नाङ्गिने ?
सम्माननीय प्रधानमन्त्री ज्यू,
म काठमाडौंको जोरपाटीमा सामान्य जिविकोपार्जन गर्दै दुई सन्तानको पालनपोषण गर्ने आम नागरिक हुँ । विहान सबैरै उठ्नु ८ नबज्दै न्यूरोड स्थित साहुको कपडा पसलमा जानु, दिनभरी गोदामबाट कपडाका खात यताउता ओसार पसार गर्नु तथा ग्राहकलाई सामान बेच्नु मेरो दैनिकी हो । विहान ९ बजेदेखि शुरु हुने मेरो यो नित्यकर्म राती साँढे सात बजेसम्म कायम रहन्छ । घर आइपुग्दा साँढे ८, ९ बज्छ ।
श्रीमती जोरपाटी नजिकै एउटा सहकारीमा कलेक्सनको काम गर्छिन् । एक छोरा र छोरीसहितको हाम्रो सानो परीवारलाई हामी दुवैले कमाएको २०, २१ हजारले जेनतेन जिवन निर्वाह गर्न पुगेको थियो ।
मासिक ५५ सय तिरेर सामान्य कोठा लिएका छौं । त्यसमा म र मेरो परीवारले जे जस्तो पाक्छ त्यसमै सन्तुष्ठ भएर यो कंक्रिटको शहरमा बाँच्ने प्रयत्न गरिरहेका थियौं । छोराछोरी नजिकैको सामान्य बोर्डिङ स्कुलमा पढाएका थियौं । उनीहरुको महिनाको २ हजार जति फिस आउँथ्यो । केटाकेटीलाई दुध, हप्तामा वा १५ दिनमा एकपल्ट भएपनि माछा मासु खुवाउँथे, वर्षमा एक दुई पल्ट लुगा फेर्दिन्थे । नुनतेल, तरकारी, चामल, कोठाभाडा, गाडीभाडा, मोवाइल खर्च, कहिले काँही विरामी हुँदा औषधी उपचार यस्तै यस्तैमा हामी जोईपोईको कमाई सकिन्थ्यो । श्रीमतीले काम गरेकै सहकारीमा मासिक एक हजार जति बचत गर्थिन् । दशैं तिहार जस्ता चाडवाडमा त्यहि पैसाले गर्जो टर्दथ्यो ।
सोलुखुम्बुको वासाबाट पैसा कमाउला सुखसयल भोगूँला, पहाडमा भएका बा–आमालाई काठमाडौं ल्याउँला भन्ने अनगिन्ती सपना सजाएर काठमाडौं आएको आज ८ वर्ष भयो । सुख सयलको कुरै छाडौं ८ वर्षमा कुनैदिन पनि राम्ररी सन्तोषको सास फेर्न पाएको छैन ।
विहानै उठ्, काममा जा, अबेर साँझ आइज, खाना खा, सुत, फेरी उठ् घडीको सुइ जस्तै एकोहोरो छ मेरो जिन्दगी ।
टुमटुम गर्दागर्दै हाम्रो परीवार बाँचेको थियो । निम्न आयस्रोत भएकोले मलाई मिठो खाने र राम्रो लगाउने रहर भन्दापनि यो काठमाडौंमा कसरी बाँच्ने चिन्ता भयो । त्यहि भएर आकाश छुने हैन, धर्तीमा दुई खुट्टा टेकेर हिँड्ने सपना मात्रै देख्दथें । न्यूरोडका ठूल्ठूला सपिङ मलमा सजिएका महंगा लूगाफाटामा ध्यान गएनन्, ठूल्ठूला रेष्टुरेन्टमा पाक्ने पकवानको बास्नाले मलाई छूँदै छुएन ।
अबेर साँझ रत्नपार्कबाट माइक्रोमा चढेर आउँदा कहिले काँही भाडा माग्न विर्सन्थ्यो कन्टेक्टरले । घरमा आएर त्यो खुसी श्रीमती र बच्चाहरुसँग साट्थें । ‘आज २० रुपैंया बच्यो !’ त्यो २० रुपैंयाले भोली केटाकेटीको स्कुलको खाजा हुन्थ्यो ।
तर, सम्माननीय प्रधानमन्त्री ज्यू, विगत ३५ दिनयता मेरो परीवार बेग्लै प्रकारको त्रासमा बाँचेको छ । तपाई लगायत सारा विश्वनै कोरोना भाइरसको त्रासमा बाँचिरहँदा म भने मेरा लालाबाला भोकै मर्लान् कि भन्ने त्रासमा छु । किन भने आजभोली मसँग काम छैन, काम नभएपछि मुखमा लगाउने माम पनि रहेन ।
चैत्र ११ गते लकडाउन घोषणा गर्दा एक हप्ता त हो भनेर मलाई खासै चिन्ता लागेन । सबैले एक सातापछि लकडाउन खुल्छ भन्थे । एक हप्ता त होनी भनेर घर जाने भन्दा पनि कोठामै परीवारसँग समय विताउने भएँ । अरु बेला श्रमिती छोराछोरीलाई खासै टाइम दिन पाउँदिनथें, लकडाउनले जुराईदियो भनेर मख्खै परें शुरुमा ।
तर, जसै लकडाउन दोस्रो चरणमा गयो, देशभित्र कोरोना भाइरस संक्रमितहरु फेला पर्न थाले मेरो मनमा चिन्ता पर्न थाल्यो । कोरोना सर्ने भो, मरिन्छ कि भन्दापनि मलाई अब के खाने ? भन्ने चिन्ता पर्न थाल्यो ।
दोस्रो पटकको लकडाउन सकिँदासम्म पैसा सकियो, बोराको चामल पनि सकिँदै गयो ।
छिमेकी भाडावालहरु जो काठमाडौं नजिकै काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोटका थिए उनीहरु कति तरकारी ओसार्ने गाडीमा घर लागे, कति चैं पैदलै घर पुगे, म पूर्वको बाँदर लड्ने भिरको भान्छे, हिँडेर जाने ल्याकत थिएन । गुडेर जाँने अवस्थै भएन ।
७ वर्षको छोरो ५ वर्षकी छोरीलाई कसरी हिँडाएर पठाउनु ? घरमा बाआमालाई फोन गरें । ‘लकडाउन छ अब गारो होला जस्तो छ । अलिकति पैसो पठाइदिनुस ।’ बा’ले उल्टै झपारे । ‘दुइटा सन्तानका बाउ भइसकिस भोलीको लागि सोचिनस् ? बन्दमा काँबाट पठाउनु पैसा ? छैन, त्यैं जोहो गर ।’
बा’लाई के थाहा शहराँ घरहरु नजिक हुन्छन् मनहरु टाढा । ‘ल ल चिन्ता नलिनु !’ भन्दै फोन राखिदिँए ।
‘यै राख्नुस जति आउँछ त्यसैले टारु’ श्रीमतीले विहेमा बनाइदिएको कानको झुम्का देखाउँदै भनि । ‘सप्पै बन्दछ काँ गएर राख्नु ?’ श्रीमतीको मुख न्याउरो भो ।
एक दिन दुई दिन भन्दाभन्दै नयाँ वर्ष कट्यो । बैशाखको दोस्रो हप्तासम्म त यता उता गर्दै टारियो, गुन्द्रुक, मस्यौरा, कहिले काँही दालभात मात्रै त कहिले सागमा झोल हालियो । तर, लकडाउन खुल्ने लक्षण नै देखिएन । उदयपुर र नेपालगञ्जमा कोरोना संक्रमित थपिएपछि भने अत्यासै लाग्यो ।
गएको साता एक साँझ स्थायीय दलका केही नेताहरु आए । ‘कति जनाको परीवार, काम के गर्छौ ? के के सकियो ?’ नाम टिपेर गए । ‘खबर गरुला ।’ आज ठ्याक्कै एक हप्ता भो नाम टिपेर लगेको । राहत आएन ।
एक हप्ता कसरी वित्यो सोच्नु होला । हो, यो हप्ता साँझ विहान मैले नयाँ काम पाएको छु प्रधानमन्त्री ज्यू,
म विहान ९ नबज्दै नारायणटारको एउटा स्कुल अगाडी श्रीमती र छोराछोरी सहित पुग्छु । त्यहाँ स्थानीयहरुले निःशुल्क खाना खुवाउँदा रैछन् । श्रीमती छोराछोरी र म केही दिन यता निःशुल्क बाँडिएको खानाको भरमा छौं । पकाउन कोठामा रासन छैन । तातोपानी खाएर कतिञ्जेल बच्ने ?
म जस्ता हज्जारौं ज्यालादारी मजदुरहरु अहिले जोरपाटी, बौद्ध, नयाँवस्ती, चावहिल क्षेत्रमा निःशुल्क बाँडीएको अन्नको भरमा छौं । ढिलै भएपनि स्थानीय घरवेटी र समाजसेवीहरुले हामी ज्याला मजदुरी गरेर जिवनयापन गर्नेहरुको प्राण धान्ने प्रयास गरे । तर, कतिञ्जेल धान्न सकिएला र ? झन अब जेठ ५ गतेसम्म लकडाउन थपियो ।
सम्माननीय प्रधानमन्त्री ज्यू मलाई थाहा छ यतिबेला विश्व नै कोरोनाको जोखिममा छ । विश्वभरका जनता घरभित्र लुकेर बसिरहेका छन् । आफुलाई विश्वकै शक्तिशाली र संमृद्धशाली भनिने देशहरु पनि कोरोना भाइरसका अगाडी लाचार भएका बेला मैले मेरो र मेरो परीवारको जिउधनको कुरा गरेर मात्रै पक्कै नहोला ।
तर, प्रधानमन्त्री ज्यू मेरोलागि मेरो परीवार नै ठूलो हो । जसरी तपाईं जनता विना प्रधानमन्त्रीको कल्पना गर्न सक्नुहुन्न । म पनि परीवार विनाको संसार कल्पना गर्न सक्दिन ।
म परीवारको जिम्मेवार अभिभावक भएकोले जसरी मागेरै भएपनि सन्तानको पेट भर्नुपर्छ भनेर सोच्दैछु तपाईं मुलुककै पिता भएकोले हामी नागरिकले के खाए खाएनन् सोच्नु पर्ने हैन र ?
तर, प्रधानमन्त्री ज्यू मुलुक लकडाउन भएको ४५ औं दिन भइसक्दा तपाईको नजर हामी दैनिक ज्यालादारी गरेर जिवनयापन गर्नेहरु प्रति परेको देखिन । खै किन हो कुन्नी तपाईलाई मैले बालुवाटार भित्रबाट ठूल्ठूला टेलिभिजनका सेटमा मुस्कुराउँदै लकडाउनको सन्दर्भमा संवोधन गरेको मात्रै देखें, हामीलाई घरभित्रै बस्नु भनेको मात्रै देखें । मास्क लगाउनु, साबुनपानीले हात धुनु, सेनिटाइजर लगाउनु मात्र भनेको देखें । प्रधानमन्त्री ज्यू, बिहान बेलुकी छाक टार्नै नसक्ने मैले कहाँबाट मास्क किनेर लगाउनु ? त्यसैपनि आजकल बजारमा मास्क कै कालोबजारी भइरहेको छ । १० रुपैंया पर्ने मास्क सय रुपैंयामा किन्न पाईंदैन । तपाईंले सावुन पानीले धात धोउँ भन्नु भयो तर, प्रधानमन्त्री ज्यू मेरो कोठामा पानी नआएको हप्तौं भइसक्यो । तपाईंलाई थाहै होला काठमाडौंमा खानेपानीको हाहाकार छ ।
मेलम्चीको पानी खाने सपना सपनामै सिमित भएको छ । पचास रुपैंयाको सेनिटाइजर तीन सय हालेर किन्ने हैसियतको भए म सडकमा निःशुल्क बाँडिएको खाना खान दौडिन्नथें ।
प्रधानमन्त्री ज्यू, तपाईंले लकडाउनमा घरबाट कसैलाई बाहिर निस्कन नदिनु, खान नपाएकालाई घरमै खाना पुर्याइदिनु । भन्नु भयो । तर, कहाँ कसले खाए खाएनन् सोध्नु नै भएन । तपाईंलाई थाहा छैन, तपाईका अघिपछि ख्वामित् भन्दै हिँड्नेहरुले कसरी काम गर्दैछन् ? तपाईंलाई थाहा छैन, कोरोना संक्रमणमा तिनीहरुलाई दशैं आएको छ ?
दुखः लाग्यो प्रधानमन्त्री ज्यू, कोरोनाको त्रासमा जनताहरु घरघरमा लुकेर बस्दा तपाईंका आसेपासेहरुलाई दशैं आएको देखेर । कोरोनाको नाममा राज्यको अरबौं सम्पत्ति माथि बाँदर लुटाई भएको देखेर मलाई कम्युनिस्ट शासन देखि नै घृणा लागेर आयो । सायद ‘भताभुङ्गे देशको लथालिङ्गे चाला’ भनेकै यहि होकी ? जसलाई जे गर्नपनि छुट छ ।
नेपाली लोकतान्त्रिक आन्दोलनमा १४ वर्ष जेल जिवन विताउनु भएका रोग, शोक र भोक के हो ? अनुभूत गर्नु भएका तपाईंप्रति हामी जनताले सामान्य अपेक्षा गरेका थियौं । जतिबेला तपाईंले दुई तिहाईको स्थिर सरकार भन्दै जनताका घरघर गएर भोट माग्नु भो । हामीलाई विस्वास थियो कि, राष्ट्रीयताप्रति प्रतिबद्ध तपाईंले मुलुकका लागि केहि गर्नुहुन्छ । जनजिविकाका सवालमा कायापलट ल्याउनु हुन्छ । तर, यो अढाई वर्षको हजुरको शासनकालमा मैले केही अनुभूत गरिन ।
राजनीतिक स्थिरता आउला, हुँदा खानेहरुको जिवनस्तर उकासिएला, गाउँगाउँमा विकासका लहर छाउला, भ्रष्टाचारी, दलाल वर्गको अन्त्य होला भनेर नै तपाईंका राष्ट्रवादी भाषणमा प्रभावित भएर, विस्वस्त भएर हामीले भोट हालेका थियौं । तर, ती सबै झुट्टा रहेछन् भनेर अब प्रमाणित गरिदिनु भयो । तपाईंको राष्ट्रवादी पगरी निरंकुशताको प्रतिबिम्ब भइरहेको छ ।
तपाईं जनता र देशप्रति वफादार हुनुहुन्थ्यो भने यो संकटको बेला जनतालाई राहत र सहानुभूति प्रकट गर्नुको सट्टा सरकार फेरवदल, पार्टी फुटाउने र जुटाउने खेलमा किन लाग्नु हुँदैछ ? हामीले तपाईंलाई प्रष्ट रुपमा पाँच वर्ष शासन गर्न भनेर पठाएका हौं । पाँच वर्षसम्म देश र जनताकालागि काम गर्ने भिजन बनाउनु पर्ने हैन र ? तपाईंसँग त देश कसरी बनाउने ? जनतालाई कसरी समृद्धशाली बनाउने ? कुनै भिजन नै देखिन मैले त ।
प्रधानमन्त्री ज्यू, म साधारण ज्यालादारीको मान्छेले त घर ब्यवहार चलाउन सोच विचार गर्नुपर्छ भने, तपाईं त साँढे तीन करोड नेपाली जनताको अभिभावक हो, तपाईंले जनताले खाए खाएनन् सोच विचार गर्नुपर्दैन ? योजना बनाउनु पर्दैन ?
प्रधानमन्त्री ज्यू, उखान टुक्कामा तपाईं जत्तिको पारंगत नेपाली राजनीतिमा कोही छैन । ‘बादशाहको नयाँ लुगा’ को कथा हजुरले पढ्नु भएकै होला । फेरी एकपल्ट पढ्नु होस् । हजुरको अहिलेको अवस्था त्यस्तै छ । हजुर नाङिगँदै गएको हुनुहुन्छ । तर, तपाईंका आसेपासेले ‘महाराज हजुरको नयाँ पोशाक कत्ति राम्रो ?’ भन्दै फुक्र्याइरहेका छन् । राजाबाट पुरस्कार र मानपदवी पाउने लालसामा जसरी तिनका भारदार र मन्त्रीहरुले राजालाई विच सडकमा जनता माझ नाङ्गै दौडाए प्रधानमन्त्री ज्यू तपाईंपनि अहिले जनताका अघिल्तिर नाङ्गै भइसक्नु भयो ।
प्रधानमन्त्री ज्यू, तपाईं शुशासन कायम गर्ने सिलसिलामा नाङ्गिनु भएको छ । भ्रष्टाचार अन्त्य गर्ने क्रममै नाङ्गिनु भएको छ । जनजिविकाका सवालमा नाङ्गिनु भएको छ । देश विकासका सन्दर्भमा नाङ्गिनु भएको छ । र, तपाईं सर्वाङ्ग नाङ्गो हुनुमा तपाईको जति दोष छ त्योभन्दा चार गुणा बढि तपाईंका अघिपछि रहेर ‘वाह महाराजलाई कत्ति सुहाएको !’ भन्दै नक्कली प्रशंशा गर्नेहरुको दोष छ ।
प्रधानमन्त्री ज्यू, अत्ति भएन र आत्मरतीमा रमाएको ? रियालिटीमा निस्कनु होस् । तीन वर्ष हुनै लाग्यो तपाई नक्कली प्रशंशामा रमाएको । ‘म कस्तो छु ?’ ऐनामा हेरेर हैन जनताका अगाडी आएर सोध्नुहोस । शुशासन, मितब्ययितता, पारदर्शिता, अमनचयन रुपी कपडा कत्तिको राम्रो र जनप्रिय छ ? जनताले छर्लङ्ग बताइदिनेछन् तपाईं कति राम्रो कति नराम्रो भनेर ।
प्रधानमन्त्री ज्यू, प्रशंशा त्यसको गरिन्छ जसले लोक र परलोक दुवैमा कृर्ति राख्न चाहन्छ । जसले आफु नखाए पनि जनता भोको नहुन् भन्दछ । तर, यहाँ त जनतालाई भोकै राखेर तपाई बालुवाटारमा चौरासी ब्यञ्जन पस्कँदै हुनुहुन्छ । जनता कोरोना त्रासका कारण त्रसिद छन् तपाईंका मन्त्री, सल्लाहकार, कोठे, हुक्के, वैठके त्यहि त्रासलाई बेचेर कुस्त कमाउँदैछन् । राज्यको ढुकुटीमा ब्रम्हलूट गर्दैछन् ।
यसलाई रोक्नुहोस प्रधानमन्त्री ज्यू, यो बेला हजुरले काम गरेर देखाउने हो । तपाईंले जति राम्रो काम गर्नु हुन्छ । जति जनउत्तरदायी सरकार बनाउनु हुन्छ जनताका नजरमा उत्तिकै चिर स्थायी बन्नु हुन्छ । तपाईंलाई अमरत्व प्राप्त गर्ने अवसर थियो र अझैपनि छ । मरेपछि कसैले केही लैजाँदैन । बाँचुञ्जेल हो हामीले गर्ने, भोग्ने देख्ने ।
प्रधानमन्त्री ज्यू, यो बेला तपाईं राष्ट्रकै अभिभावक भएको नाताले हामी जस्ता एक छाके जनतालाई तपाईंसँगै अपेक्षा हुनु स्वभाविक हो । केही गर्नुस, गर्दिनुस । हामी भोकै मर्ने अवस्थामा छौं ।
उही तपाईंको शुभचिन्तक
अनिरुद्र पौडेल, जोरपाटी