धरानमा लकडाउनको बेवास्ताः बैंकहरुमा पेन्सन र भत्ता लिनेहरुको भीड

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । विश्वमा महामारीको रूप लिएको कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी नेपाल सरकारले पनि गएको चैत्र ११ गतेदेखिको लकडाउनलाई जारी राखेको छ ।

कोरोनाको महामारीबाट बचाउन सरकारले हरेक दिन नयाँ उपायहरु सुझाइरहेको छ, नागरिकलाई संक्रमणबाट जोगाउन । तर सुनसरीको धरानमा भने लकडाउन र सामाजिक दुरी पालना भएको देखिँदैन ।

धरानमा बिहान ६ बजेदेखि ९ बजेसम्म लकडाउन खोलिने गरेपनि त्यसपछिका समयमा कडा पारिएको छ । तर धरानमा बिहानको समयमा मुख्य सडकहरूमा अत्यन्तै धेरै मोटरसाइकल, स्कुटर, ट्याम्पो र निजी गाडीहरू समेत गुड्ने गरेको देखिन्छ ।

त्यतिमात्रै नभइ कतिपय स्थानहरुमा त अनुमति नलिएका पसलहरू पनि आधा सटर झारेर खुलेका छन् भने बन्द रहेका पसलहरुले पनि ग्राहक तानेर भित्र लगी सामान बिक्री गर्न थालेका छन् ।

पछिल्लो समय धरानमा लकडाउन सर्वसाधारणको सहजताका लागि बिहानको समय खुकुलो बनाइएको हो । यसको फाइदा उठाउँदै अनुमति नलिएका पसलहरूले पनि धमाधम बिहान पसलहरु खोल्दै आफ्ना व्यापारलाई बढावा दिन थालेका छन् । सामाजिक दुरीको ख्याल समेत गरेका छैनन् कसैले ।

धरान बजार छिमेकी जिल्लाहरु उदयपुर र भोजपुरमा कोरोना संक्रमण फैलिएको अवस्थामा धरानमा पनि संक्रमण नआउला भन्न सकिँदैन । उच्च जोखिममा छ । त्यसका बाबजुत पनि सर्वसाधरणहरु लकडाउन उल्लंघन गरेर रमाइरहेका छन् ।

लकडाउनलाई पालना गराउन स्थानीय सरकार र प्रहरी प्रशासन दिन रात लागेपनि आफ्नोपनका कारण यहाँ सरकारको नियम कानुनको कुनै असर परेको देखिँदैन ।

यसैबीच धरानमा लकडाउनको बेलामा धरानका बैकहरूमा पेन्सन र भत्ता लिनेको भिड पनि उत्तिकै बढेको छ । पेन्सन अड्डा काठमाडौंले वैशाख १६ गते हालेको र देशका विभिन्न बैंकहरुमार्फत पेन्सन र ज्येष्ठ नागरिकहरूलाई सुरक्षा भत्ता वितरण गर्नुपर्दा बैकहरुमा भीड बढ्ने गरेको नेपाल बैङ्क लिमिटेड धरान शाखाका शाखा प्रमुख कमल भुजेलले बताए ।

लकडाउनको बेलामा पेन्सन र सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सेवाग्राहीहरूको बाक्लो उपस्थितिले गर्दा सामाजिक दुरीको समेत पालना गर्न नसकेको र यसले कोरोना सङ्क्रमणको उच्च जोखिम बढ्ने उनको भनाइ छ ।

यस्तै धरानको राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक, स्टानडर्ड चार्टर बैंक, एसबीआई बैंक लगायतका बैंकहरुमा सर्वसाधारणहरुको बाक्लो उपस्थित छ ।

धरानमा बैङ्कहरूले सामाजिक दुरी कायम गरी सेवाग्राहीलाई सेवा दिन खोजेपनि सेवाग्राहीले बैंकको अनुरोधलाई नमानिदिँदा समस्या हुने गरेको धरानका विभिन्न बैंकहरुका म्यानेजरहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *