नेपाली भूमि मिचेर भारतद्वारा लिपुलेक हुँदै मानसरोवर जाने बाटो खुला
काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेक हुँदै तिब्बतमा रहेको कैलाश मानसरोबर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिंक रोड उद्घाटन गरेका हुन् । भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो खुला गरेको छ ।
रक्षामन्त्री सिंहले बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले निर्माण गरेको सडक सञ्जालको शुक्रबार उद्घाटन गरिएको ट्विटमार्फत् जनाएका छन् । उनले भारतको उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढदेखि नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्ने सडक मार्गको निर्माण गर्ने बीआरओलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।
यसअघि भारतले नोभेम्बर २०१९ मा एक राजनीतिक नक्सा सार्वजनिक गर्दै नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा वैधानिकरुपमा आफ्नो बनाएको थियो । नेपालमा राजनीतिकसँगै नागरिक स्तरबाटै त्यसको चर्को विरोध भएकाे थियाे । नेपालले सो सीमासम्बन्धी विषयलाई समाधान गर्न वार्ताको प्रस्ताव गरे पनि भारतले चासो देखाएको छैन । अहिले फेरि सोही क्षेत्र हुँदै नेपालसँगको परामर्शबिना उक्त सडक मार्ग सञ्चालन गरिएको छ ।
यो सडक मार्गले नेपाली भूमिलाई हस्तक्षेप गरेको सीमाविदहरु बताउँछन् । सन् १८१६ को सुगौली सन्धि अनुसार काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । लिम्पियाधुरा मुहान भएको नदी नै सीमा नदी भएकाले गुञ्जी, गब्र्याङ, कुटीयाङ्दी लगायतका सम्पूर्ण भूभाग नेपालको हो ।