नेपालीभूमिमा भारतीय सडक उद्घाटन हुँदासमेत थाहा नपाउनु विडम्बनाः साझा पार्टी

काठमाडौं। साझा पार्टीले नेपाली भूमिमा सडक निर्माण गरेर भारतले उद्घाटन गर्दासमेत सरकार बेखबर रहनु विडम्बना भएको बताएको छ। पार्टीका सह प्रवक्ता शरदराज पाठकले शनिवार प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाली भूमि अतिक्रमण गरी भारतले सडक निर्माण गरेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दाबी गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेको हो। त्यसको साझा पार्टी कडा भर्त्सना गर्दछ।’

भारत सरकारले अन्तर्राष्ट्रिय कानून विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप गरेको साझा पार्टीको ठहर छ। पछिल्लो यस सडक निर्माण कार्यलाई नेपालप्रति भारतले बारम्बार देखाउँदै आएको हेपाहा प्रवृत्तिको अर्को नमुना भएको उसको दाबी छ। ‘नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको साझा पार्टीले दोहोर्‍याउँदै आएको छ। त्यो स्पष्टतः भारतले बारम्बार देखाउँदै आएको हेपाहा प्रवृत्तिको अर्को नमुना हो,’ विज्ञप्तिमा साझाले भनेको छ।

भारतबाट सीमा अतिक्रमणका घटना दोहोरिनु कूटनीतिक कमजोरी भएको साझा पार्टीको भनाइ छ। उसले विज्ञप्तिमा भनेको छ, ‘भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना हुनुमा हाम्रो कूटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार छ। आफ्नो भूभागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्घाटन गर्दासम्म नेपाल सरकार बेखबर रहेको देखिनु अत्यन्तै विडम्बनापूर्ण स्थिति हो।’

साझाले भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालको तर्फबाट भारत सरकारसँग परिणाममुखी कूटनीतिक संवाद हुन नसक्नुलाई दुःखद भनेको छ। साझा पार्टीले भारतले सबै अतिक्रमित भूमि छोड्नुपर्ने ठहर गरेको छ। ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नुपर्छ। पछिल्लो समय उसले जारी गरेको नयाँ नक्सा सच्याउनुपर्छ र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमा याचना गर्नुपर्छ।’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *