क्वारेन्टाइनमै जन्मिए जुम्ल्याहा शिशु

दाङ । तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । तुलसीपुर – १३ फूलबारी निवासी अनिता यादवले शुक्रबार राति ९ बजे जुम्ल्याहा बालिकालाई जन्म दिएकी हुन् ।

भारतको बलरामपुर माइती गएकी यादवलाई घर फर्किनेक्रममा तुलसीपुरस्थित क्वारेन्टाइनमा रहेका बेला व्यथा लागेको थियो । सुत्केरी हुने समय नजिकिएपछि एक्लै पैदल यात्रा गरेर भारतबाट फर्किएकी यादव गत बुधबार घर फर्किएकी थिइन् । उनलाई बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको थियो ।

लकडाउनका कारण सवारी साधन नचलेपछि लामो दूरीको यात्रा पार गरेर यादव तुलसीपुर आएकी हुन् । “एम्बुलेन्समा आउन पैसा थिएन, घर जान माइतीले दवाव दिएपछि हिँडेरै आएँ”, उनले भनिन्, “खानेकुरा साथमै बोकेर ल्याएकी थिएँ, बाटोमा खानेकुराको समस्या त भएन तर बास बस्न भने समस्या थियो ।”

दुई दिनको लगातारको पैदल यात्रा हिँडेर घर आएकी उनले कसैको घरमा बास माग्दा नदिएको र सडक पेटीमै रात बिताउनुपरेको कटु अनुभव भोग्नुपर्‍यो । यादव भारतबाट आएको थाहा पाएपछि बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको उपमहानगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख भीमप्रकाश खत्रीले बताए ।

क्वारेन्टाइनमा राखेकै दिन दिउँसोदेखि उनलाई व्यथा लागेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको थियो । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि अहिले तुलसीपुरस्थित तुलसी हस्पिटल प्रालिमा एनआइसियुमा राखेर उपचार भइरहेको अस्पतालका सञ्चालक तथा बालरोग विशेषज्ञ डा. किशोर खत्रीले बताए ।

डा खत्रीका अनुसार तौल सामान्यभन्दा कम भएकाले एनआइसियु (नवजात अतिसघन उपचार कक्ष)मा राखेर उपचार गरिएको छ । शिशुको तौल २.५ देखि ३.५ केजीसम्म हुनुपर्ने भए पनि ती शिशुको तौल क्रमशः डेढ र एक केजी २५ ग्राम छ ।

कम तौल भएका शिशुको आन्द्रामा प्वाल पर्ने, श्वासप्रश्वासमा समस्या हुने र चिनी कम हुने भई मृत्युसमेत हुने जोखिम भएकाले एनआइसियुमा राखेर उपचार भइरहेको डा खत्रीको भनाइ छ । उनका अनुसार शरीरमा अक्सिजनको मात्रा कमी भएकाले शिशुको अवस्था गम्भीर छ । आमाको दूध सजिलै चुस्ने नहुँदासम्म एनआइसियुमा राखेर उपचार गर्नुपर्ने डा. खत्रीले बताए ।

नवजात शिशु र आमाको उपचारमा लाग्ने खर्च अस्पतालले निःशुल्क उपलब्ध गराएको छ । उपमहानगरपालिकाले खानाको यवस्थापन गरेको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । डा. खत्रीका अनुसार उनीहरुको सबै खर्च दैनिक रु १४ हजारभन्दा बढी लाग्ने छ । अहिले सुत्केरीको स्वास्थ्यावस्था सामान्य छ । यादवको आजै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यादवको यसअघि गरिएको र्‍यापिड डायग्गोष्टिक टेष्टको रिपोर्ट भने नेगेटिभ आएको जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *