दरबन्दीका चिकित्सक बिदामा, करारका चिकित्सकको म्याद सकियो

दार्चुला । कोराना भाइरसका कारण अहिले विश्वव्यापी समस्या भइरहेका बेला गोकुलेश्वर अस्पतालमा कार्यरत दुई जना डाक्टर भने अध्ययन बिदामा गएका छन् ।

गत कात्तिक महिनामा अध्ययन बिदामा गएका डाक्टर कोरोना महामारीका बेला पनि फर्किएका छैनन् । अस्पतालमा कार्यरत डाक्टर रोशन भगत चौरासिया र गौमा धामी अध्ययन बिदाबाट फर्किएका छैनन् ।

उनीहरुकोसमायोजनका बेला सङ्घमा पठाइएको भए पनि दरबन्दी अस्पतालमै रहेको अस्पतालका डाक्टर महादेव भट्टले बताए । दुवै जना तीनवर्षे अध्ययन बिदामा गएका बताइएको छ ।

जिल्ला अस्पतालमा कार्यरत डाक्टर भट्टको करार अवधि यही वैशाख २३ गते सकिएको छ । “आफ्नो करार सेवा अवधि सकिएकाबारे स्वास्थ्य सेवा विभाग र शैल्यशिखर नगरपालिकालाई समेत जानकारी गराइसकेको छु”, डाक्टर भट्टले भने, “तर हालसम्म पहल भएको छैन ।” अहिले करार सेवा अवधि थपिने विभागबाट आश्वासन पाएको उनले बताए ।

अस्पतालमा ‘आमासुरक्षा’ कार्यक्रमअन्तर्गत एक जना डाक्टर लोकेन्द्र थापा मात्र कार्यरत छन्। दरबन्दीका डाक्टर नहुँदा अस्पतालमा ओटी सेवा बन्द भएको छ ।

कोभिड– १९ रोकथाम तथा नियन्त्रण नगरपालिका विशेष कार्यदलले कोरोना सङ्क्रमणका समयमा चिकित्सक अभाव हुन नदिन विशेष पहल गरिदिन जिल्ला सङ्कट व्यवस्थापन केन्द्रलाई आग्रह गर्ने निर्णय गरिएको समितिका सदस्य जगदीश भट्टले जानकारी दिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *