लिपुलेकमा भारतले सडक बनाएको जानकारी सरकारलाई छः परराष्ट्रमन्त्री

काठमाडौं। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक निर्माण गरिरहेकोबारे सरकार जानकार रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा आइतबार सांसदहरूले उठाएका प्रश्नको जवाफमा मन्त्री ज्ञवाली भने, ‘यो निर्माणका बारेमा सरकारलाई थाहा नहुने भन्ने कुरा नै भएन।’

उनले विवादित विषयमा कूटनीतिक माध्यमबाट समाधान खोज्ने हिसाबले अघि बढ्ने सरकारको योजना रहेको सुनाए। नेपाली भूमिमा रहेको भारतीय सेना फिर्ता गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा आह्वान गरेको समेत उनले सांसदलाई जानकारी गराए। मन्त्री ज्ञवालीले केही प्राविधिक कुरा पुरा गर्नुपर्ने हुँदा नेपालको नयाँ नक्सा सार्वजनिक गर्न समय लागेको बताए।

उनले भने, ‘नक्सा सार्वजनिक गर्नु अगाडी त्यसको समग्र प्राविधिक पक्षहरू ‘एक इन्च पनि बढी हुन र एक इन्च पनि तल हुन नहुने’ गरी सबै कुराहरूमा पर्याप्त तयारी गरेर सम्पूर्ण कुराहरूलाई चेक जाँच गरी सार्वजनिक गर्नु पर्ने भएकोले केही समय लगेको हो। संसद् र विभिन्न समितिहरूले दिएको निर्देशन अनुसार सरकारले नक्सा सार्वजनिक गर्छ।’

मन्त्री ज्ञवालीले सुगौली सन्धिपछि भारतसँग अर्को कुनै सीमासम्बन्धी सम्झौता नभएको समेत बताए। ‘सुगौली सन्धिका आधारमा नेपालको सीमा निर्धारण भएको हो। सीमालाई परिवर्तन गर्ने गरी अर्को कुनै दुई पक्षीय सीमासम्बन्धी सम्झौता भएको छैन,’ उनले भने।

उनले भारतसँगको सीमा विवादलाई सरकारले सुगौली सन्धिमा निर्धारण गरेको सिमांकनको नक्सा, नेपाली जनताले तिरेका तिरो लगायत तथ्य र प्रमाणका आधारमा समस्याको समाधान गर्ने बताए। मन्त्री ज्ञवालीले भने, ‘नेपाल त्यही सुगौली सन्धिका आधारमा त्यति बेलाका नक्साहरू, प्राप्त ऐतिहासिक तथ्यहरू, प्रमाणहरू, नेपाली जनताले भोग चलन गरेका तिरो हरू र अन्य दस्ताबेजहरू, तथ्य र प्रमाणका आधारमा समस्याको समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *