कोरोना महामारीपछि शिथिल अर्थतन्त्रलाई जागरण गराउन बजेट लक्षित हुन्छः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले कोरोना भाइरस महामारीपछि अर्थतन्त्रमा देखा परेको शिथिलताको अन्त्य गर्न आर्थिक गतिविधिलाई नयाँ गतिकासाथ जागरण गराउन आगामी वर्षको बजेट लक्षित हुने बताएका छन्। उनले उच्च आर्थिक वृद्धि दरमा शीघ्र प्रवेश गर्ने गरी र अर्थतन्त्रलाई गतिशील बनाउने तर्फ बजेट केन्द्रित हुने बताए।

संसद्मा आइतबार बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्दै अर्थमन्त्री खतिवडाले वामपन्थी चुनावी घोषणा पत्र, १५ औँ योजनाका लक्ष्य, दिगो विकासका लक्ष्य, अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने लक्ष्यसाथ आगामी वर्षको बजेट विनियोजन हुने बताए।

‘घोषणापत्र र सरकारले लिएको लक्ष्यसँगै कोरोना महामारी नियन्त्रण गर्ने र अर्थतन्त्र उकास्दै लोककल्याणकारी राज्यको रूपमा तर्फ ध्यान दिने बजेट आउने छ,’ उनले भने, ‘सबै नागरिकको उत्पादनमा अधिकार दिइने छ। राज्यले कमजोर वर्गलाई ध्यान दिने छ। कृषि क्रान्तितर्फ सरकारले ध्यान दिने छ।’

कोरोनाका कारण असर परेको अर्थव्यवस्था उकास्न र उत्पादनका क्षेत्रमा जनतालाई सहभागी गराउन प्राथमिकता दिने गरी आगामी वर्षको बजेट निर्माण गरिने उनले बताए। बजेटले सरकारले यसअघि लिएको नीति सुशासन र समृद्धिका लागि थप लगानी गर्ने अर्थमन्त्री खतिवडाले बताए।

नेपाल सरकारले पूर्व सावधानी अपनाउँदै केही उपाय अपनाएका कारण कोरोना सङ्क्रमणमा कमी भएको र मानवीय क्षति नभएकाले आगामी दिनमा पनि सरकारले जनताको हितमा ध्यान दिएर आर्थिक नीति ल्याउने उनले बताए। उनले आगामी आर्थिक वर्षको बजेट कोरोना महामारीका कारण परेको प्रभाव न्यूनीकरणमा आधारित हुने बताए।

‘बाह्य क्षेत्रसँगको श्रम, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा कायम अन्तरआवद्धताका कारण श्रम बजार, निर्माण, उत्पादन, पर्यटन तथा आपूर्तिको शृङ्खलामा गम्भीर असर परेको छ’ उनले भने कोभिड १९ को प्रभावलाई न्यूनीकरण गर्दै अर्थतन्त्रलाई गतिशीलता तुल्याउनुपर्नेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *