‘१२ वर्षदेखि सडक बनिरहेको रहेछ, थाहा छैन भन्दै जनतालाई उल्लु बनाउन खोजेको ?’

काठमाडौं । सांसदहरुले भारतले १२ वर्षदेखि नेपाली भूमीमा बाटो बनाइरहँदा नेपालले कसरी थाहा पाएन भन्दै प्रश्न उठाएका छन् । संसदको संसदको अन्तराष्ट्रिय समितिको आज बसेको बैठकमा बोल्दै सांसदहरुले १२ वर्षदेखि भारतले नेपाली भूमीमा बाटो बनाइरहँदा नेपालले थाहा नपाएको भन्नु लज्जास्पद भएको बताएका छन् ।

बैठकमा सांसदहरुले तत्काल नेपालले नेपालको आफ्नो भूमि समेटिएको नक्सा जारी गर्न माग गरेका छन् । संसदको अन्तराष्ट्रिय समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद दिब्यमणी राजभण्डारीले १२ वर्षदेखि सडक बन्दा कसरी थाहा नपाएको भन्दै प्रश्न गरे । ‘अहिले गुगल स्याटेलाइटबाट सबै देखिन्छ, जनतालाई कति उल्लु बनाउन खोजेको ?’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले एकतर्फी रुपमा नेपाली भूमीमा सडक बनाएको विषय आपत्तिजनक रहेको र कुटनीतिक तबरबाट समस्या समाधान गर्न जोड दिए ।

नेकपा सांसद राम कार्कीले तत्काल नेपालले आफ्नो भू–भाग समेटिएको नक्सा सार्वजनिक गर्न माग गरे । उनले दुई देशबीच कुटनीतिक तरिकाले छलफल गर्ने भनेर भारतले पनि बताएको उल्लेख गर्दै नेपालले आफ्नो भू–भागको आधिकारिक नक्सा सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसका सांसद प्रकाशमान सिंहले मन्त्रीले हेलिकोप्टरबाट सीमा निरीक्षण गरेको भन्ने कुरा आएको बताउँदै मन्त्रीले के हेरे भन्दै प्रश्न गरे ? उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल गत फागुन ५ गते नेपाली सेनाको हेलिकप्टर चढेर निरीक्षणका लागि दार्चुला गएका थिए । सिंहले प्रमुख प्रतिपक्षी दलले सरकारलाई आवश्यक कदम चाल्न सहमति दिँदा पनि सरकारले केही गर्न नसकेर लाचार भएको बताए ।

बैठकमा नेकपा सांसद सुदन किराँतीले भारतले भूमी अतिक्रमण गरेको जनताले थाहा पाएपछि मात्र सरकारले थाहा पाउने यो कस्तो सरकार हो भन्दै आपत्ति प्रकट गरे । उनले १२ किलोमिटर सडक खन्दा पनि सीमा क्षेत्रमा खटिएका सरकारी संयन्त्रले थाहा नपाएझैं गर्नुमा भारतको गोटी हो कि हैन भन्दै प्रश्न गरे । उनले संसदीय समिति कार्यपालिकाको लाचार छायाँ छ हैन, किन संसदीय समितिले दिएको निर्देशन सरकारले पालना गरेन भन्दै प्रश्न गरे ।

सांसद दीपकप्रकाश भट्टले सरकारलाई ठोस कदम चाल्न सुझाए। उनले पनि विगतमा समितिले नक्सा जारी गर्न दिएको निर्देशन पालना नभएको उल्लेख गर्दै समितिको निर्देशन मन्त्रालयले पालना नगरेकोमा आपत्ती जनाए। उनले भारतले कश्मिरलाई आफ्नो नियन्त्रणमा लिएको उदाहरण प्रस्तुत गर्दै भारतले क्षेत्रीय दादागिरी देखाएको टिप्पणी गरे।

नेपाल भारतबीचको सीमा विवादबारे संसदको अन्र्तराष्ट्रिय समितिले डाकेको बैठकमा भूमी व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल भने अचानक स्वास्थ्य समस्या आएका कारण बैठकमा सहभागी हुन नसकेको जानकारी गराएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिएकी थिइन् ।

मन्त्री अर्यालको अनुपस्थितिमा मन्त्रालयका सचिवले सहभागिता जनाएका छन् । उनले प्राविधिक कारणले नेपालको सम्पूर्ण भूभाग रहेको नक्सा सार्वजनिक गर्न नसकेको बताए । बैठकमा गृहमन्त्री रामबहादुर थापालाई पनि बोलाइएको भएपनि उनी संसदको राज्यब्यवस्था तथा सुशासन समितिमा सहभागी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *