खैरहनीमा उद्योग सञ्चालनबारे छलफल, कच्चा पदार्थ अनलोड गर्दा वडा र प्रहरीलाई जानकारी गराउनुपर्ने
- ध्रुवराज खनाल
चितवन । संघीय सरकारले तोकेका मापदण्ड अनुसार खैरहनी नगरपालिकाभित्र रहेका उद्योग सञ्चालन गरिने भएको छ ।
उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउन आइतबार खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीको आह्वानमा भएको सर्वपक्षिय छलफलमा सरकारले तोकेको मापदण्ड पुरा गरि उद्योग सञ्चालन गर्ने सहितका विभिन्न निर्णय भएको छ ।
सरकारले यही २६ गतेदेखि विभिन्न ४४ प्रकारका उद्योग सञ्चालन गर्न खुल्ला गरेको छ । ति उद्योगहरु सहज रुपमा तथा त्यहाँ कार्यरत कामदारहरु सुरक्षित रुपमा रहनका लागि सर्वपक्षिय छलफल राखेर केही बुँदाहरुमा सहमती समेत जनाईएको नगरपालिका प्रमुख चौधरीले बताए ।
सहमती अनुसार उद्योग संचालनका लागि बाहिरबाट कामदार ल्याउन पाइने छैन । उद्योग संचालनका लागि आवश्यक कामदार कर्मचारी स्थानीयस्तरमा उपलब्ध हुन सक्ने उद्योगले उपलब्धताका आधारमा सिफ्ट सञ्चालन गरेर संचालन गर्ने, कर्मचारीलाई यथासम्भव उद्योग परिसरमै क्वारेनटाईनमा राख्ने, कर्मचारी उद्योग ल्याउने, लैजाने व्यवस्थाका लागि एक सवारी साधन प्रयोग गर्नुपर्ने र त्यसका लागि नगरपालिकाले सहजीकरण गर्ने, कर्मचारी अनुसार प्रत्येकले सवारी साधन प्रयोग गर्न नपाउने, उद्योगमा आवश्यक कच्चा पदार्थ ल्याएर अनलोड गर्ने क्रममा सम्वन्धीत वडा कार्यालय र प्रहरी प्रशासनलाई जानकारी गराउनु पर्ने लगायत निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए ।
मालसामान अनलोड गर्दा सकेसम्म दिउँसोको समयमा गर्ने, कच्चा पदार्थ ल्याउँदा सम्बन्धित टोल विकास संस्था, नागरीक समाजले सहयोग गर्ने, कुनै विवाद आए सम्बन्धित वडाध्यक्षले आवश्यक समन्वय र सहयोग गर्ने निर्णय पनि भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।
छलफलमा नगरपालिका उपप्रमुख सुनिता थपलिया, नेकपा नगर अध्यक्ष लक्ष्मी ढकाल, नेपाली कांग्रेस नगर सभापति शशिकुमार खनियाँ, उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, चितवन उद्योग संघ खैरहनी इकाई अध्यक्ष प्रतिभा श्रेष्ठ, चेम्वर अफ कर्मस खैरहनीका अध्यक्ष प्रकाश श्रेष्ठ, वडाध्यक्षहरु रामशरण पाण्डे, भुमि प्रसाद कडेंल, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्ती मगर, उद्योग बाणिज्य संघ खैरहनीका निवर्तमान अध्यक्ष गुणराज श्रेष्ठ, संघका महासचिव कुमार खनाल,नगरपालिका प्रशासकीय अधिकृत दामोदर अधिकारी लगायत केही उद्योगीहरुको उपस्थिति रहेको थियो ।
छलफलमा सहभागीहरुले स्वास्थ्यलाई ख्याल राख्दै सहज रुपमा उद्योग संचालन गर्ने वातावरण हुनुपर्ने सुझाव दिँदै उद्योग संचालन पश्चात् अनुगमन भने निरन्तर गर्नुपर्ने बताएका थिए ।
छलफलमा लकडाउनपछि खैरहनी नगरपालिकामा वितरण राहत, बजार व्यवस्थापन लगायतका विषयमा समेत समिक्षा भएको थियो । नगरपालिकाले वितरण गरेको राहतको व्यवस्थापनप्रति सहभागीहरुले धन्यवाद दिए । खैरहनी नगरपालिकाले एकद्धार प्रणाली अवलम्बन गर्दै दुई पटक राहत वितरण गरिसकेको छ ।