सधैं झगडा गर्नुभन्दा सीमामा काँडेतार लगाउने हो कि ? : माधव नेपाल

काठमाडौं। नेपाल अब आफ्नो सीमाको नियमन र नियन्त्रणमा जानुपर्ने बेला आएको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन्। नेपालको भूमिमाथि नै दावा गर्ने भारतको छिमेकी राष्ट्रप्रतिको धारणामाथि आशंका उब्जाएको नेता नेपालको भनाइ छ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा उनले भने, ‘सीमा मिच्ने, सुरक्षा फौजले आक्रमण गर्ने गरेको छ। सानो छिमेकी राष्ट्रप्रति भारतको धारणा ठीक छैन कि भन्ने गम्भीर आशंका भएको छ। नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको छ,’ उनले भने ।

उनले नेपालमा भारत विरोधी भावना बढ्नुमा भारत नै जिम्मेवार भएको बताए। भारतसँग सँधै सीमा विवाद भइरहनुभन्दा सीमानामा काँडेतार लगाउन उचित हुने नेता नेपालको भनाइ छ। उनले भनेका छन्, ‘भारतसँग सधैँ झगडा गर्न सकिँदैन, तारबार लगाउने हो कि के गर्ने हो हुनुपर्यो। कहिले सीमाबाट आतंकारी छिर्यो भनेको छ, कहिले के भनेको छ। यसलाई रोक्नुपर्छ।’

उनले सबै खालका तथ्य र तर्कका साथ सीमा सम्बन्धमा भारतसँग तत्काल वार्ता गर्नु पर्ने बताए। उनले यस विषयमा चीन सरकारसँग पनि कुरा गर्नुपर्ने बताए। कोरोना भाइरसको महामारीको बहाना पारेर सीमा मिचिएको गम्भीर विषयमा वार्ताका लागि आलटाल गर्न नहुने उनको भनाइ छ।

नेपालको पश्चिम सीमाना लिम्पियाधुरामा भएको उनले उल्लेख गरे। नेता नेपालले काली नदी नै सीमा नदी हो भन्ने नक्सा र तथ्य प्रमाण भएको समेत बताए। उनले नेपालले आफ्नो सबै भूमि समेटेको नक्सा सार्वजनिक गरिहाल्नु पर्ने पनि जोड दिए। भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको ट्रयाक खोलेर उद्घाटन गरेपछि विरोध चर्केको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *