संघीयता लागु गर्ने सवालमा केही कमजोरी देखियोः ओनसरी घर्ती

काठमाडौं। नेकपाकी नेतृ तथा सांसद ओनसरी घर्तिमगरले संघीयता लागु गर्ने सवालमा केही कमजोरी देखिएको बताएकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसद घर्तिमगरले अधिकार र स्रोतहरूको केन्द्रीकरण गरिनुले संघीयता कमजोर हुने तर्क गरिन्। उनले अधिकार र स्रोत परिचालनको सवालमा तीन तहबीच न्यायोचित वितरणमा जोड दिइन्।

उनले भनेकी छन्, ‘संघीयता लागु गर्नेक्रममा अधिकारहरूको केन्द्रीकरण हुँदै गएको छ, अनावश्यक संरचनाहरू दोहोरोपन हुने गरी कायम राखिएको, अनावश्यक खर्च बढेको अवस्था छ, स्रोतको केन्द्रीकरण गर्ने तर काम र जिम्मेवारी भने तल पठाउने प्रवृत्ति बढिरहेको टिप्पणी भइरहेको छ। सरकारको नीति तथा कार्यक्रमले यसतर्फ ध्यान दिन आवश्यक छ।’

कोरोना भाइरसको महामारीले देशमा बेरोजगारी बढाउने भएकोले त्यसको व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण हुने उनले बताइन्। यस्तो अवस्थामा बेरोजगार जनशक्तिलाई कृषिमा उपयोग गरी कृषि उत्पादन बढाउने, आयात प्रतिस्थापन वृद्धि गर्ने र कृषि उपजको निर्यात वृद्धि गर्ने अवस्थाको सिर्जना गर्नतर्फ सरकारको प्रभावकारी कदम आवश्यक पर्ने सांसद घर्तिमगरको भनाइ छ।

उनले यस कार्यका लागि नयाँ संस्थागत संरचनाको आवश्यकता औँल्याइन। उनले कोरोना महामारीपछि विश्वले सामाजिक, आर्थिक र राजनीतिमा नयाँ सोच र बहसको माग गरेको समेत बताइन्। उनले यो समय समाजवाद उन्मुख प्रणाली विकास गर्ने उपयुक्त अवसर भएको पनि बताइन्।

शिक्षा, स्वास्थ्य जस्ता विषयमा अहिलेको प्रणालीमा जाने हो भने समाजवाद तिरको यात्रा कठिन हुने उनको भनाइ छ। यी विषयमा सुधार र सकारात्मक पहलकदमी सरकारले चाल्नु पर्ने उनले बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *