गरिमा धान पीडित राप्तीका किसानलाई न्युनतम राहत, अन्य पालिकामा आएन  

  • ध्रुवराज खनाल

चितवन । गत वर्षको सिजनमा गरिमा नामको हाईब्रिड धानको बीउ रोप्दा नोक्सानी व्यहोरेका चितवन राप्तीका किसानका लागि राहत रकम आएको छ । तर जिल्लाको अन्य पालिकाहरुमा पनि गरिमा धान लगाईएको भएपनि राहत रकम आएको छैन ।

आएको राहत रकम पनि ज्यादै न्युन मात्रामा छ । जिल्लाको अन्य पालिकाको तुलनामा राप्तीमा गरिमा धानको बीउ बढी लगाइएको थियो । राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार नगरभित्र ६ हजार ४० कठ्ठामा सो धानको बीउ लगाइएको थियो । सो क्षेत्रफलमा ७ सय ९२ किसानले खेती गरेका थिए । राप्ती नगरपालिकाले सुचना जारी गरेर सम्बन्धित वडा कार्यालय मार्फत् विवरण टिपाएकाहरुलाई राहत रकम लिन अनुरोध गरेको छ ।

राप्तीमा संघीय सरकारले क्षतीपूर्ती स्वरुप राहत प्रदान गर्नका लागि ३७ लाख ४२ हजार रुपैयाँ पठाएको नगर प्रमुख बरालले जानकारी दिइन् । क्षति रकम भने किसानहरुले दामासाही रुपमा प्राप्त गर्ने उनकाे भनाइ छ । जस अनुसार प्रति कठ्ठा ६ सय १९ रुपैयाँ किसानले प्राप्त गर्ने छन् ।

कृषि ज्ञान केन्द्रले राप्ती नगरपालिकामा उत्पादन लागत ३ हजार ६ सय ३५ रुपैयाँ कायम गरेको छ । तर किसानले राहत पाउँदा उत्पादन लागत भन्दा ज्यादै कम रकम पाउनेछन् । राप्ती नगरपालिकामा सबैभन्दा बढी वडा नम्बर ८ मा नोक्सानी भएको थियो । सो वडामा १ हजार ७ सय ७१ कठ्ठामा २ सय २४ जना किसानले गरिमा धान लगाएका थिए ।

सबैभन्दा कम वडा नम्बर ११ मा ३ जना किसानले १९ कठ्ठामा साे धान लगाएका थिए । ढिलै भएपनि क्षतीपूर्ती रकम आउनु सकारात्मक रहेको भन्दै राप्ती नगरपालिका प्रमुख बरालले थोरै राहत आयो भनेर चित्त नदुखाउन आग्रह गरेकी छिन् ।

नोक्सानी वापतको क्षतीपूर्ती स्वरुपको राहत रकम सोमबारदेखि सम्बन्धित वडा कार्यालयहरुले वितरण गर्न सुरु गरेका छन् ।

राप्ती नगरपालिकाले वडागत रुपमा संकलन गरेको क्षतीको विवरणः

वडा                    किसान संख्या   कठ्ठा

  • राप्ती  वडा नं १           १८७          ११७७.५
  • राप्ती  वडा नं २           १७              ८९
  • राप्ती  वडा नं ३           २१               १४१.४
  • राप्ती  वडा नं ४           २०               २५४
  • राप्ती  वडा नं ५            ५                 ९४.५
  • राप्ती  वडा नं ६           ५३                ४६४.७
  • राप्ती  वडा नं ७          ११९                ८४०
  • राप्ती  वडा नं ८           २२४              १७७१.१०
  • राप्ती  वडा नं ९           १०८                ८२८.३
  • राप्ती  वडा नं १०         ३५                 ३६०
  • राप्ती  वडा नं ११          ३                    १९
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *