देशको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा पुग्योः मिनेन्द्र रिजाल

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कोरोना भाइरसबाट प्रत्यक्ष पारेको असर न्यूनीकरणका लागि राष्ट्रिय अठोटको खाँचो रहेको बताएका छन्। प्रतिनिधिसभा संसदमा विनियोजन विधेयक ०७७ का सिद्धान्त र प्राथमिकता विषयमा सोमबार धारणा राख्दै रिजालले देशको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा पुगेकोसमेत बताए।

उनले वैदेशिक रोजगारी, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा के–कस्तो असर र चुनौती हुने हो भन्ने अवस्था यकीन भइनसकेको अवस्थामा यो पटक सीमित बजेट ल्याउन सरकारलाई सुझाव दिए। उनले भने, ‘बजेट सीमितरुपमा ल्याउँ, हरेक क्षेत्रमा छलफल गरेर साउनपछि पूरक बजेट प्रस्तुत गर्नुपर्छ, त्यसबेला दुनियाँ र देशभित्र परेको प्रभाव देखिन्छ, कोरोनाको कहरले अर्थतन्त्र कहालीलाग्दो अवस्थामा पुगेको छ, ध्यान दिउँ।’

रिजालले फर्किएका नेपालीलाई अहिले मुलुक कोरोना कहरको अवस्थाबाट कसरी बाहिर निस्कने गम्भीर चिन्ताको विषय रहेको बताए। उनले कृषि, पर्यटन, स्वास्थ्यलगायतमा हुने क्षतिबारे अहिले नै भन्न नसकिने बताए। राष्ट्रिय गौरवका आयोजनामा प्रगति सन्तोषजनक नरहेको पनि उनको भनाई छ।

ठूला आयोजनाको अवस्था नाजुक बन्दै गएको उनले बताए। रोजगारी कसरी दिलाउने भन्ने विषयमा सबै राजनीतिक दलले एउटा बाटो तय गरेपछि मात्रै पूरक बजेट ल्याउनु पर्नेमा उनको जोड छ। राष्ट्रिय अठोट बनाएर अर्थतन्त्रको विकास गर्नुपर्ने आजको आवश्यकता रहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *