सविता दम्पत्तीको सहयोग जारी, कमजोर आर्थिक अवस्थाका खेलाडीका परिवारलाई राहत वितरण

काठमाडौं । एसियाली खेलकुदको तेक्वान्दोका रजत विजेता सविता राजभण्डारी र उनका पति किशोर श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका कमजोर आर्थिक अवस्थाका खेलाडीका परिवारलाई राहत स्वरुप खाद्य सामाग्री सहयोग गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघ (डब्लुकेकेओ नेपाल) का अध्यक्ष अशोककुमार श्रेष्ठलाई समस्यामा परेका खेलाडी परिवारको पहिचन गरी वितरण गर्न १ सय ५० परिवारका लागि राहत हस्तान्तरण गरे ।

उपत्यका र आसपासका जिल्लाका क्योकुसिन कराते खेलाडीलाई चामल, तेल, नुन, गेडागुडी, मसेउरा, सोयाबिन र साबुन प्रदान गरिएको संघकी उपाध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् ।

सविता र किशोरकै सहयोगमा यसअघि काठमाडौं महानगरपालिका वडा ११ का दैनिक ज्यालादारी गरी गुजारा चलाउने मजदुरलगायतका प्रभावित २ सय परिवारलाई राहत वितरण गरिएको थियो ।

त्यसबेला पनि सदस्य–सचिव सिलवालले वडा अध्यक्ष हीरालाल तण्डुकारलाई राहत हस्तान्तरण गरेका थिए । सविता १९९८ को बैंकक एसियाडकी रजत विजेता हुन् । किशोरले पनि सोही एसियाडमा कास्य जितेका थिए । उनीहरु लामो समयदेखि अमेरिकाको सियाटलमा बस्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *