लकडाउन उल्लंघन गरेको भन्दै दुई होटल भत्काइयो, म्यानेजर पक्राउ

काठमाडौं । नाइजेरियाको सरकारले कोरोना भाइरस संक्रमण फैलनबाट रोक्न उद्देश्यसहित लागू गरेको लकडाउनको नियमलाई कथित रुपमा उल्लंघन गर्ने रिभर्स राज्यका दुई होटल भत्काएको छ ।

राज्यका गभर्नर न्येसोम वाइकीको रेखदेखमा इदिमेते होटल र प्रोडेस्ट नामका दुई होटल आइतबार भत्काइएका हुन् । गर्भनरले लकडाउन अवधिभरी होटल खोल्न नपाउने नियम तोडेकोले यी दुई होटल भत्काउनु परेको जानकारी दिएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

कोभिड–१९ द्वारा संक्रमित बिरामी राज्यका विभिन्न होटलमा बसिरहेको भेटिएको उनले बताए । यद्यपि, उनले भत्काइएका होटलमा पनि संक्रमित बसे नबसेको बारे भने जानकारी दिएनन् । दुबै होटलका म्यानेजरलाई पक्राउ गरिएको छ । यद्यपि, प्राडेस्ट होमका मालिकले भने आफ्नो होटल खुल्ला नरहेको दाबी गरे । ‘होटल सञ्चालन गरिएकै थिएन र ७० प्रतिशत कर्मचारीलाई घर पठाइएको थियो,’ गोगोरोबारी प्रोमिस निदामले भने ।

होटलमा जम्माजम्मी तीनजना व्यक्ति मात्रै थिए । ‘अधिकारी आए र घुसको माग गरे । उनीहरुले घुस दिए लकडाउनमा पनि होटल सञ्चालन गर्न दिने बताइरहेका थिए । तर हामीले होटल सञ्चालनमा नआएकोले घुस दिन आफूसँग पैसा नभएको बतायौं,’ उनले भने ।

रिभर्स राज्यका अधिकारीले यस्तो आरोप खण्डन गरे । यो राज्यमा १५ जना संक्रमित देखिएका छन् भने दुई जनाको मृत्यु भइसकेको छ । राज्यको राजधानी पोर्ट हाकोर्टमा गत बिहिबारदेखि लकडाउन घोषणा गरिएको थियो । पूरा नाइजेरियामा ४ हजार बढी कोरोनाभाइरस संक्रमित छन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *