नेपाल टेलिकमको नाफा ७ अर्ब ५६ करोड, लकडाउनमा बोनस दिँदा नाफामा गिरावट
काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ७ अर्ब ५६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत वर्षको सोही अवधिमा ७ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको थियो।
नेपाल टेलिकमले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासिक विवरण सार्वजनिक गर्दै नाफामा गिरावट आएको जनाएको हो । गत वर्षको तुलनामा ४.२७ प्रतिशतले नाफामा गिरावट आएको कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा कम्पनीले कूल सेवा बापत २७ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेकोमा यस वर्षको सोही अवधिमा २६ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेको हो । गत वर्षभन्दा यस वर्ष आम्दानीमा कमी आउनुको प्रमुख कारण २०७५ चैत्र १ गतेदेखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न सुरु गर्नु रहेको टेलिकमले जनाएको छ ।
कमिसन कूल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्रीअघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवा बापतको आय घटेको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उक्त डिस्काउन्ट रकम ८५ करोड ३३ लाख ४४ हजार रुपैयाँ रहेको छ । रुपैयाँ रहेको छ। गएका वर्षमा यस्तो आम्दानी गणना गरिन्थ्यो, तर अहिले यस्तो आम्दानी गणना नगर्दा नाफामा गिरावट देखिएको कम्पनीले जनाएको छ।
यदि यस्तो आम्दानी गणना गरिने हो भने कम्पनीको नाफा पहिलाको भन्दा धेरै देखिन्छ। यदि यस्तो रकम जोडियो भने गत आर्थिक वर्षको तुलनामा १८ करोडले नाफा बढी देखिन्छ।
यसैगरी कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत्र महिनाको राजस्वमा नकारात्मक असर परेको जानकारी टेलिकमले दिएको छ ।
लकडाउनको अवधिमा चैत्र २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस रकममा कुल ५३ करोड ४ लाख रुपैयाँ र सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई ५ करोड ३ लाख रुपैयाँ बराबरको जिरो व्यालेन्स प्याकेज प्रदान गरेको थियो ।
त्यसैगरी मोबाइल सेवाको आधारभूत दरमा २७ प्रतिशत देखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको जसबाट ८ करोड २ लाख रुपैयाँ आम्दानी गुमाएको छ । लकडाउनको कारणले मात्र कम्पनीको आयमा कूल ६६ करोड ९ लाख रुपैयाँ घाटा भएको कम्पनीले जनाएको छ । टेलिकमले सरकारको कोरोना राहत कोषमा समेत १० करोड रुपैयाँ दिएको थियो ।
त्यस्तै टेलिकमले उल्लेखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा विदेशी विनिमयदर (अमेरिकी डलर लगायत) मा भएको वृद्धि तथा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तार सँगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको जनाएको छ ।