‘धराशायी अर्थतन्त्रको संकेत देखिदा पनि सरकारले फजुल खर्च कटौती गर्न चाहेन’ {मन्तव्यको संक्षिप्त अंशसहित}
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारले फजुल खर्च कटौती गर्ने महत्त्वपूर्ण अवसर गुमाउन लागेको बताएका छन्। कोरोना भाइरसको महामारीपछि राज्यको आम्दानी उल्लेख्य मात्रामा घट्ने भए पनि सरकारले फजुल खर्च घटाउन साहस नगरेको उनले बताए।
मंगलबारको प्रतिनिधिसभा बैठकमा थापाले अहिलेको समय सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने अवसर भएको बताए। तर यस्तो बेलामा पनि फजुल खर्च घटाउने आँट सरकारले नगरेर कोरोनाले पार्ने प्रभावको सामना कसरी गर्ने भन्दै प्रश्न गरे।
बजेटले केही आशा जन्माउला कि भन्ने अपेक्षा गरेको भए पनि विधेयक पढेपछि त्यो बाँकी नरहने थापाको भनाइ छ। ‘कोरोना भाइरसको महामारीले नेपालको अर्थतन्त्रलाई पनि प्रभाव पारेको छ। हाम्रो बजेटले आशा जगाउला कि भन्ने अपेक्षा गरिरहँदा यो डकुमेन्ट हेर्दा त्यो बाँकी रहेन,’ उनले भने।
सांसद गगन थापाले संसदमा राखेको मन्तव्यको संक्षिप्त अंशः
अर्थमन्त्रीले सार्वजनिक रूपमा बोलेको कुराले कसलाई उत्साहित बनाएको छ ? मानिसहरू निराश छन्। आतंकित भएका छन्। कम्तीमा हाम्रो बजेटले एउटा भरोसा जगाउलाकी भन्ने आशा गरिरहँदा यो डकुमेण्ट हेरिरहँदा त्यो भन्ने ठाउँ पाउँदैनौँ।
हामीले हिजो के गरेनौं। जुन कुरा यस पटक गर्न जाँदैछौं। कुनको क्रमभंग हामी गर्दैछौ। कहाँ हामी नवीनता ल्याउँदै छौं। कहाँ कुन कुन कार्यक्रमलाई निरन्तर दिँदै छौं। कुन सिद्धान्तमा टेकेर। यसका बारेमा केही चर्चा गरिएको छ ? केही पनि छैन। भनिएको छ, म करको दर होइन दायरा बढाएर मेरो आम्दानी बढाउँछु। यो वर्ष कहाँ निर कसरी करको दायरा बढाउने ? का गएर दायरा बढाउने ?
खर्च घटाउने बारेमा यस्तो मौका आउँदा पनि एउटा ठोस साहस गरेको छैन। सार्वजनिक खर्च पुनरावलोकन आयोगले भनेको र त्यसका सिफारिसहरू कार्यान्वयन गरेर म देखाउँछु। म यो पटक सयौं ठाउँका ती फजुल खर्च कटौती गर्छु भन्ने साहस पाएको बेला पनि सरकारले त्यो आँट गर्न सकेन।
करिब छ लाख मानिस घर फर्कँदै छन्। ती मानिसहरूको बारेमा सरकारलाई धेरै चिन्ता छैन। भन्नको लागि सीमामा गएर हेर्न गए हुन्छ। बाहिर खाडीमा रहेका मानिसहरूका लागि प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सुने हुन्छ।
चार लाख मानिस यो पटक बाहिर जाँदैनन्। दश लाख मानिसको सबैभन्दा पहिले खल्ती प्रभावित हुन्छ। खल्ती प्रभावित हुँदै गर्दा खुत्रुके प्रभावित हुन्छ। खुत्रुकेमा मात्र प्रभाव सीमित रहन्न, ढुकुटी नै प्रभावित हुन्छ। हाम्रो अर्थतन्त्रको सबै कुरा त्यहीबाट सुरु हुन्छ। माग, आपूर्ति, बस्तु, सेवालगायतका त्यहीबाट सञ्चालित सबै कुरा प्रभावित हुँदै गर्दा खेरी करिब करिब दश लाख मानिसलाई हामी कहाँ लान्छौँ।
मानौं कि यो भन्दा पहिला ती मानिसहरू कृषि क्षेत्रमा काम गर्ने इच्छा नभएर गएका हुन्। मानौं कि यो भन्दा पहिला तिनीहरू साना उद्योग चलाउने उत्प्रेरणा थिएन। हामी त्यति भनिरहेका छौं। हाम्रो गाउँमा मानिसहरू फर्केका छन्। गाउँमा ती मानिसहरू बस्छन्। तर सबै कुरा कृषिसँग मात्र जोडेर हुँदैन। उनीहरूको एजुकेसन र स्वास्थ्यलाई जोडेर हेर्नुपर्छ।
हामीले एक संकल्प हामीले खोजेका छौं, एक साहस हामीले खोजेका हौ, एउटा सिर्जनात्मकता हामीले खोजेको हो, अहिलेको यो प्रतिकूलताको बीचमा। तर संकेतहरुले हामीलाई त्यो देखाइरहेका छैनन्। हाम्रो निराशा बदल्ने संकेत यस बजेटले गर्नसकोस शुभकामना !