रेड जोनमा काठमाडौं, सीमामा कडाइ नहुँदा जोखिम झन् बढ्यो

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रण लागि नेपाल पनि विगत ५० दिनदेखि लकडाउनमा छ भने सीनानाका सिल गरिएको छ । तर, यो लकडाउनकै बीचमा भारतबाट आएको अधिकांशमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भइरहेको छ ।

यसले तराईका जिल्ला बढी जोखिममा परेका छन् भने सिंगो देश पनि अछुतो छैन । भारतबाट लकडाउनकै अवधिमा नेपाल भित्रिनु र नेपाल आइसकेपनि पछि क्यारेन्टाइनमा बस्नुको सट्टा लुकिछिपी घरमै बस्नुले कोरोना जोखिमलाई उच्च बनाएको हो ।

देशभर दुईदिनको अवधिका एकसय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतसँगको सीमा नाकामा कडाइ गर्न नसक्दा लकडाउनकै अवधिमा झन् जोखिम बढेको हो । लकडाउनलाई पूर्ण पालना गराउनमा केहि कमजोरी भएकै सम्भावित संक्रणण बढ्यो भने सीमामा कडाइ गर्न नसक्नुले जोखिम भित्रियो ।

रेड जोनमा काठमाडौं
सरकारले सीमित कर्मचारीहरूको भरमा विभिन्न कार्यालयहरू चलाउन पाइने निर्णय गर्दै त्यसका लागि सवारी आवागमनको अनुमति दियो । लकडाउन केही खुकुलो पारेर सवारीसाधन सञ्चालन गर्न दिइएको पहिलो दिन आइतबार सडकमा आवागमन अचानक बाक्लियो ।

ट्राफिक प्रहरी अधिकारीहरूका अनुसार कम प्राथमिकताका कामका लागि पनि मानिसहरू बाहिर निस्किन थालेका छन् । काठमाडौं जोखिमबाट मुक्त भइनसकेका बेला लकडाउनमा कडाई नहुनुले जोखिम झन् बढेको विज्ञहरूको भनाइ छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार काठमाडौं उपत्यका उच्च जोखिमको सूचीमा छ ।

‘सरकारले आन्तरिक रूपमा रेड (रातो), येलो (पहेँलो) र ग्रीन (हरियो) गरी तीन किसिमको क्षेत्रमा वर्गीकरण गरेको छ,’ महानिर्देशक श्रेष्ठले भने, ‘काठमाडौं अहिले पनि रेड जोनमा छ ।’ जनसङ्ख्याको अनुपातमा काठमाडौं उपत्यकामा सङ्क्रमण निकै कममा देखिएको छ । तर, मानिसहरूको आवागमन बाक्लो भएको र मानिसहरू लुकीछिपी धेरै भित्रिएकाले उपत्यकालाई उच्च जोखिममा राखिएको महानिर्देशक श्रेष्ठको भनाई छ ।

त्यसैले सार्वजनिक सवारी साधन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द नै रहनेछन् । काठमाडौं उपत्यकामा बाहिरबाट मानिसहरू नआऊन् भनेर थप कडाइ गरिने र कोरोनाभाइरसको परीक्षण व्यापक बनाइने उनले बताए ।

यसअघि जोखिमपूर्ण ठाउँबाट आएका, सम्भावित सङ्क्रमितहरूको सम्पर्कमा रहेका र सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिबाहेक अन्यलाई परीक्षणको दायरामा ल्याइएको थिएन । तर अब भने ज्वरो आएका र खोकी लागेकाहरूको परीक्षण गरिने छ भने परीक्षणको दायरा बढाईनेछ ।

मंगलबार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा ८३ जना कोरोना संक्रमित फेला परेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ५७ र बेलुका २६ जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि गरेको हो । हाल नेपालमा कुल संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *