अमेरिकी सिनेटमा चीनमाथि प्रतिबन्ध लगाउन सक्ने कानून ल्याउन प्रस्ताव
वासिङ्टन। अमेरिकाको माथिल्लो सदन सिनेटमा चीनमाथि प्रतिबन्ध लगाउन सक्ने कानून ल्याउन प्रस्ताव ल्याइएको छ। चीनले कोरोना भाइरस (कोभिड-१९) बारे पूर्ण जानकारी सार्वजनिक नगरे भन्दै प्रतिबन्ध लगाउन सक्ने कानून ल्याउन प्रस्ताव गरिएको हो।
समाचार एजेन्सी एएफपीका अनुसार सत्तारुढ रिपब्लिकन सांसदहरूले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अधिकार दिने कानून ल्याउन प्रस्ताव गरेका हुन्। प्रस्तावित कानूनको नाम ‘कोभिड-१९ अकाउन्टिबिलिटी विधेयक’ हो।
रिपब्लिकन सांसद जिम इन्होफले कोरोना भाइरस संक्रमणको शुरुवातमा चीनले पूर्ण रुपमा धोका दिएको आरोप लगाएका छन्। चीनले संक्रमणबारे पूर्ण जानकारी सार्वजनिक नगरेका कारण दुनियाँको समय र जिन्दगी बर्बाद भएको उनले बताए। प्रस्तावित कानूनको नाम ‘कोभिड-१९ अकाउन्टिबिलिटी विधेयक’ हो।
प्रस्तावित कानूनअनुसार राष्ट्रपति ट्रम्पले ६० दिनभित्र चीनले पूर्ण जानकारी दिएको संसद्लाई स्पष्ट गर्नुपर्नेछ। सोही आधारमा संयुक्त राष्ट्रसंघ या उसका संगठनहरूले जाँच शुरु गर्न सक्नेछन्। प्रस्तावित कानूनअनुसार राष्ट्रपति ट्रम्पले संसद्लाई चीनको सबैभन्दा जोखिमयुक्त पशु बजार बन्द भएको र हङकङमा लोकतन्त्र समर्थक प्रदर्शनकारीहरूलाई रिहा गरिसकिएको जानकारी गराउनुपर्नेछ।
यदि त्यसो भएन भने राष्ट्रपति ट्रम्पलाई चीनमाथि धेरै प्रकारका प्रतिबन्ध लगाउने अधिकार हुने प्रस्तावमा उल्लेख छ। सम्पत्ति फ्रिज गर्ने, यात्रामा प्रतिबन्ध लगाउने, भिसा रद्द गर्ने, चिनियाँ कम्पनीहरूलाई अमेरिकी बैंक र बजारहरूमा पहुँचबाट रोक्नेलगायत अधिकार उक्त कानूनले ट्रम्पलाई दिनेछ।