नेकपा सांसद खिमलालको प्रश्नः के नेपालीले फेरि कालापानीमा खुकुरी नचाउनु पर्ने हो ?

काठमाडौं। नेकपाका सांसद खिमलाल भट्टराईले कालापानीमा आवश्यक परे रगत बगाउन नेपाली तयार रहेको बताएका छन्। राष्ट्रिय सभा बैठकमा बुधवार सांसद भट्टराईले आफ्नो भूमि रक्षाका लागि नेपाली बलिवेदिमा होमिन तयार रहेको चेतावनीपूर्ण अभिव्यक्ति दिए।

‘भारतको बल मिचाइ जारी छ। के नेपालीले आफ्नो जमिनका लागि रगत बगाउनु पर्ने हो ? के नेपालीले फेरि खुकुरी नचाउनु पर्ने हो ? प्रश्न जन्मिएको छ। वीर बलभद्रका सन्तान नेपाली फेरि रगत बगाउन तयार छन्। बलिवेदिमा होमिन तयार छन्। तर माटो बगाउन तयार छैनन्। भारतले छिट्टै बुझ्दा राम्रो हुन्छ,’ उनले भने।

सांसद भट्टराईले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपाली भूमि हो भन्ने पुष्टि गर्ने प्रमाणहरू सुरक्षित रहेको बताए। उक्त प्रमाणका साथ नेपालले उक्त भूमिमाथि दाबी गरेको उनको भनाइ छ। आफ्नो भूमि रक्षा र फिर्ता गर्न नेपाल सरकारले सकारात्मक प्रयास गरिरहेको भए पनि अब त्यतिले पर्याप्त नहुने उनले बताए।

भट्टराईले नेपाली भूमि रक्षाका लागि सरकारले सीमामा पर्खाल लगाउनुपर्ने देखि कालापानी क्षेत्रमा सेनाको ब्यारेक राख्नु पन्नेसम्मका पाँच वटा कामहरू तत्काल थाल्नु पर्ने बताए। उनले भने, ‘भारतसँग कूटनीतिक र राजनीतिक पहल जारी राख्नु पर्छ, लिम्पियाधुरा लिपुलेकमा नेपाली सेनाको ब्यारेक स्थापना गर्नुपर्छ, दार्चुला सदरमुकाम देखि लिम्पियाधुरासम्म सडक निर्माण गर्नु पर्छ, देशको दक्षिणी सीमामा पर्खाल लगाउन सुरु गर्नुपर्छ, सीमा क्षेत्रमा रहेका ग्रामीण सडकहरूलाई व्यवस्थित गर्नुपर्छ, लिम्पियाधुरा सम्मको भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक गर्नुपर्छ।’

राष्ट्रियसभाको विशेष समयमा बोलेका भट्टराईले उक्त काम गर्न सरकारले ढिलाइ गर्न नहुने बताए। जनता सरकारको साथमा रहेको र देश एकबद्ध भएको बेला आफ्ना पहलकदमी तीव्र गतिमा अघि बढाउन बेला सरकारसँग उनले आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *