मानव जीवनको रक्षा बजेटको पहिलो प्राथमिकताः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउन खुकुलो पारेर आर्थिक गतिविधि सुचारु गर्नुको विकल्प नभएको बताएका छन्। संसद्मा बजेटका प्राथमिकता तथा सिद्धान्तमा सांसदहरूले उठाएका सवालको जवाफ दिँदै उनले भोकसँग लड्न लकडाउन केही उद्योग खोलिएको बताए।

केही सांसदले कोरोना भाइरसको जोखिम रहेको बेला उद्योग खोलेकोमा विरोध जनाएपछि खतिवडाले सो विषयमा स्पष्ट पारेका हुन्। खतिवडाले भने, ‘हामीले न्यूनतम आर्थिक क्रियाकलाप सुरु गरेनौं भने रोगबाट त बचिएला, भोकबाट बचिँदैन।’ यसमा सन्तुलित भएर अघि बढ्नुपर्ने उनको धारणा छ।

उनले आर्थिक वर्षको सुरुमै सरकारले पूरक वा अर्ध बजेट ल्याउने सम्भावना नरहेको पनि बताए। सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउने र त्यो पूर्ण बजेट हुने बताए। ‘संविधानको व्यवस्थाअनुसार जेठ १५ गते पूर्ण बजेट नै आउँछ। अधिकतम सोच प्रयोग गरेर बजेट ल्याउने हो। अर्ध बजेट ल्याउने कुरा हुँदैन,’ मन्त्री खतिवडाले भने, ‘कोरोनाका कारण पछि के हुन्छ भन्ने कुरा छ, जीवन पनि अनिश्चित छ, आफ्नो कर्म चरिरहने हो।’

खतिवडाले सरकारले आर्थिक समृद्धिको नारालाई यथार्थमा उतार्ने गरी बजेट ल्याइने पनि बताए। उनले मानव जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य पूर्वाधारमा जोड दिने बताए। सीमापारि रहेका नेपालीलाई फर्काउनेबारे थप छलफल आवश्यक रहेको उनले बताए। यसमा भावना मात्र नहेरी कठिनाइ एवं स्वास्थ्यको जोखिमलाई समेत विचार गर्नुपर्ने मन्त्री खतिवडाको तर्क छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *