मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

आनन्द, तिमी मर्न सक्दैनौ ! पहिलाे भारतीय सुपरस्टारकाे अमर कथा

शीर्षकमा उद्धृत यो संवाद् भारतीय सुपर स्टार अमिताभ वच्चनले आफ्नो युगका अर्का महान् सुपर स्टार राजेश खन्नासित खेलेको पहिलो फिल्म ‘आनन्द’ मा आफैँले बोलेका हुन् ।

अमिताभ वच्चनका कैयन् संवाद् हिट भए तर यो हिट भएको पहिलो संवाद् हो ।

आनन्द ऋषिकेश मुखर्जीले आफ्ना मित्र राजकपूरका लागि लेखेको एउटा महानगरीय जीवनको विवृत्ति हो । यो पहिलो हिन्दी फिल्म हो जसको पछि हलिऊडमा ओलिभर स्टोनले सन् १९८४ मा रिमेक पनि गरे ।

यो राजेश खन्नाको जीवनको सदावत्र्तकालीन फिल्म मानिन्छ ।

साँच्चैका आनन्द, राजेश खन्ना ३ वर्षअगि आजकै दिन विते मुम्बईमा ।

राजेश खन्नाको मृत्यु अघि चर्चामा आएका यी कुरा निकै रोचक छन्,

फिल्म आनन्दमा राजेश खन्ना र अमिताभ, तस्विरः गुगल

# उनलाई पहिलो पटक नाटकमा एक नेपाली निर्देशक वीएस थापाले मौका दिएका थिए अभिनेताका रुपमा । यहीँ उनको आफ्नो पहिलो प्रेमिका अञ्जु महेन्द्रा सित भेट भयो ।

# उनको पहिलो फिल्म आखिरी खत (सन् १९६६) सर्वश्रेष्ठ विदेशी भाषाको फिल्मको रुपमा ४० औँ ओस्कार फिल्म महोत्सवमा प्रविष्ट भएको थियो ।

दुवै सम्बन्ध असफल भएपछि यिनी टीना मुनिमसित लिव् इन रिलेशनसिशप मा बसे ।टीना मुनिम अहिले भारतको ठूलो औद्योगिक परिवार अम्बानीकी बुहारी हुन् ।

# सन् १९६९ मा प्रदर्शित उनको ‘आराधना’ नामक सिनेमाले उनलाई भारतको पहिलो सुपर स्टारको पगरी दियो ।

# उनले पहिलो पटक सलीम र जावेद लाई जोडीका रुपमा चलचित्रमा मौका दिए सन् १९७१ मा ‘हाथी मेरे साथी’ मा ।

# बम्बई विश्व विद्यालयले उनीमाथिको निवन्ध ‘द करिश्मा अफ् राजेश खन्ना’ पाठ्यपुस्तकमा समाविष्ट गरेको थियो ।

# सन् १९६९ देखि उनले लगालग १५ ओटा हिट फिल्म दिए जुन अहिले सम्मको इतिहास मानिन्छ ।

# उनी माथि वृत्तचित्र बनाउने जैक पिज्जेले उनको प्रसिद्धीलाई रुडोल्फ भ्यालिन्टिनोको करिश्मा र नेपोलियनको अहँसित तुलना गरेका छन् ।

# उनको निम्ति ‘मिस्टर इन्डिया’ नामक फिल्म लेखिएको थियो तर उनले अस्वीकार गरे ।

# उनले प्रेम अञ्जु महेन्द्रासित गरे र विवाह बबी गर्ल डिम्पल सित गरे ।

दुवै सम्बन्ध असफल भएपछि यिनी टीना मुनिमसित लिव् इन रिलेशनसिशप मा बसे ।टीना मुनिम अहिले भारतको ठूलो औद्योगिक परिवार अम्बानीकी बुहारी हुन् ।

# राजेश खन्नाको घर आशिर्वाद बलिऊडको सबभन्दा प्रसिद्ध टुरिस्ट स्पट मानिन्थ्यो जुन विक्री भएको खबर छ ।

# सन् १९९२ देखि सन् १९९६ मा सम्म उनले काँग्रेस आई मार्फत् राजनीतिमा शानदार सवार गरे ।

# राजेश खन्ना भारतका पहिलो रोमान्टिक सुपर स्टार हुन् ।

# राजेश खन्ना फिल्मजगतमा सबैभन्दा सफल र पछि सबैभन्दा असफल नायक मानिए ।

प्रकाश सायमी

भनिन्छ, राजेश खन्नाको सफलता उनको पहिलो प्रेमिका अञ्जुलाई पचेन,  उनको असफलता उनकी पत्नी डिम्पललाई सह्य भएन । अभिनेता राजेश खन्नाको चर्चा गर्ने वित्तिकै दुई कुरा स्वतः प्रख्यमा आउँछन्, एक अभिनय र अर्को उनको जीवन ।

अनि उनको अभिनयसँग जोडिन्छ एउटा सम्मानित शब्द सुपरर स्टार , जुन शब्द पहिलो पटक भारतीय सिनेमामा उनका निम्ति मात्र प्रयोग गरिएको थियो र त्यो साँचो अर्थमा उनकै निम्ति मात्र हुन पुग्यो ।

यो शब्द भारतीय प्रिन्ट मिडियाले उनकै निम्ति क्वाईन गरेको थियो । त्यो पनि उनकी प्रेमिका–पत्रकार देवयानी चौवालले ।
आज भारतमा यो सुपर स्टार शब्द धेरै सिने-नायकलाई प्रयोग गरिन्छ, अमिताभ बच्चन देखि लिएर शाहरुख, अमिर र सलमान सम्म ।
यसवारेमा सलमानका पिता सलीम खान लेख्छन्,

“आज मेरो छोरा ठूलो स्टार भएको छ । हाम्रो घर बाहिर उसलाई हेर्न हरेक दिन भीड लाग्छ । मलाई मान्छे भन्छन्, कुनै पनि स्टारको निम्ति यस्तो क्रेज पहिले देखिएन । म तिनलाई एउटै कुरा भन्छु कि यही सडकबाट केही पर कार्टर रोडमा आशिर्वाद को सामुने मैले यस्तो तमाशा र भीड देखिसकेको छु , राजेश खन्नाको लागि । राजेश खन्ना पछि मैले कुनै स्टारको निम्ति यस्तो पागलपन देखिनँ । शायद अब त्यस्तो हुँदैन पनि होला ।”

सत्तरी र अस्सी दशकका चर्चित फिल्म लेखक सलीम खानको यो भनाईले एउटा सुपरस्टारको जीवनीको पुष्टि गर्छ ।

कुनै पनि सुपर स्टारको जीवनीको कुरा गर्ने वित्तिकै दुई कुरा स्वतः चर्चामा आउँछ, सफलता र असफलता ।

एउटा नाप्नै नसकिने सफलता र एउटा सम्हाल्नै नसकिने असफलता अभिनेता राजेश खन्नाले मात्र देखे एउटा जिन्दगीमा ।

सफलता उनले जस्तो भारतमा (सम्भवतः एशियामा) कसैले देखेन, विश्वमा पहिलो पटक एल्भिस प्रेस्लेलाई सेतो कार चढ्न प्रतिवन्ध लगाइएको थियो त्यो सम्भवतः पहिलो पटक भारतमा राजेश खन्नाको निम्ति अवलम्बन भएको थियो ।

राजेश खन्नाले सेतो कार चढ्दा उनका महिला फ्यानका लिपिस्टीकको दागले गाडी रंगिन्थ्यो । प्रायः स्टारलाई मान्छेले मनपराउँछन् तर माया गर्दैनन् । राजेश खन्नालाई मान्छे असाध्य माया गर्थे, घर लान मनपराउँथे, सँगै राख्न मन पराउँथे । उनी पछि सर्वाधिक चर्चामा आएका अर्का सुपरस्टार अमिताभ बच्चन भन्छन्, पहिलो पटक दिल्लीको चाणक्यमा उनको सिनेमा हेर्दा मेरी आमाले उनलाई घर लिएर आउन मन गरेका थिए, त्यस्तो करिश्मा थियो राजेश खन्नाको ।

राजेश खन्नालाई ज्वरो आयो वा उनी विरामी परे भन्ने खबर फैलिँदा उनका महिला फ्यान उनको तस्वीरमा पानी छम्किन्थे । यो क्रेज भारतमा पछि सम्म रह्यो । एउटा हिन्दु परम्पराको भक्ति प्रथामा मनराउने कला भएको भारतवर्षमा राजेश खन्नाका निम्ति मीरा जस्ता भक्तिनी प्रशस्त थिए ।

उनको देहान्त हुँदा आजका चर्चित अभिनेता शाहरुख खानले भने, “सर, तपाइँले हाम्रो युगलाई यो सब सिकाउनु भयो । मम्मी र म एकपछि एक राजेश खन्नाका सिनेमा हेथ्र्यौँ । जब जीवन हामीलाई मुश्किल लाग्थ्यो तब तपाइँले नै हामीलाई सिकाउनु भयो कसरी मायाले संसार बदल्न सकिन्छ । हामी तपाइँलाई हमेशा याद गर्छौँ ।”

राजेश खन्नाको संसार नै अद्भूत थियो उनी सिनेमा आउँदा एकसेएक स्टारहरु थिए मैदानमा । तर उनलाई कसैको पर्वाह थिएन । उनी एकलाख प्रतिस्पर्धीका वीच युनाइटेड प्रोड्युसरले छानिएका थिए सन् १९६५ मा ।

सन् १९६९ देखि सन् १९७२ सम्म लगातार १५ सुपरहिट फिल्म दिए, यो सम्भवतः विश्व सिनेइतिहासमा पहिलो घटना थियो । यतिवेला उनको ६ वर्षको बालख देखि ६० वर्षका वृद्धासम्म फ्यान थिए । इतिहास हेर्न सकिन्छ यतिवेला जन्मेका हुर्केका धेरै बच्चाको नाउँ आमाले गर्वले राजेश राखेको पाइन्छ ।

राजेश खन्ना पर्दामा जाज्वल्यमान भइरहेको समय भारतमा फिल्म हेर्न जाने अवसरलाई साँच्चै पर्वको रुपमा लिइन्थ्यो । युवतीहरु त्यतिवेला यसरी हलमा जान्थे, मानौँ तिनीहरु राजेश खन्नासित डेटिँगमा जाँदैछन् । सिनेमा हलमा प्रवेश गर्नु भन्दा दुई घन्टा अगि ती युवती व्यूटी पार्लरमा समय विताउँथे । व्युटी पार्लरमा उनको मात्र चर्चा हुन्थ्यो ।

२४ वर्षमा सिनेमा आएका राजेश खन्ना २६ वर्षमा बलिऊडका सबभन्दा ठूला सुपरस्टार भए । यो अप्रत्याशित सफलता यसअगि कसैले देखेका थिएनन् । उनी जहाँ जान्थे, त्यहाँ भीड लाग्थ्यो । उनको सुरक्षाको निम्ति मुम्बई पुलिसलाई तनाव हुन्थ्यो ।

उनले विहेको गरेको साल प्रहरीले समुद्री किनार र महिला छात्रावासमा अचानक सिलवन्दी गर्नु परेको थियो । उनको विहे एउटा अन्तर्राष्ट्रिय घटना हुन पुग्यो ।

२६ वर्षको कलिलो उमेरमा सुपर स्टार भएर एउटा हिस्टिरीया जन्माएका राजेश खन्नाले ३२ वर्षको उमेर सम्म वन म्यान् इन्डस्ट्री नै चलाए । व्युटी पार्लरबाट चर्चामा आएका राजेश खन्नालाई त्यस्तै केश गृहबाट अपमानित रुपमा विदा गरिदिए , जब सैलूनमा यस्तो लेखियो,

राजेश खन्ना हेयर कट –दुई रुपैञा

अमिताभ बच्चन हेयर कट –तीन पचास रुपैञा ।

सन् १९७३ मा उत्तर भारतमा महँगी वढ्दै गएको वेला युवा प्रदर्शनमा थिए, मुम्बई यतिवेला शहरीकरणको रुपपरिवर्तनको मिर्मिरेमा थियो ।

भर्खरै भारत सरकारले कन्ट्रैक्ट लेबर (रेगुलेशन एन्ड अबलिगेशन एक्ट) लागू गरेको गरेको थियो । यही विषयलाई केन्द्रविन्दू बनाएर बँगाली फिल्म निर्देशक ऋषिकेश मुखर्जीले सन् १९६४ को हलिऊड फिल्म बैकेट लाई हिन्दीमा रुपान्तरण गरे, रिचार्ड बर्टन र पीटर ओ टुल को ठाउँमा वच्चन र खन्नालाई लिए । यो फिल्मको नाउँ थियो, नमक हराम ।

Great things in business are never done by one person. They are done by a team of people.

जञ्जीरबाट उदाएका अमिताभ बच्चन र राजेश खन्नाको ‘नमकहराम’ प्रदर्शनमा आएपछि फिल्मी बजार बद्लियो ।

मिडियापण्डित र फिल्मसमाजले अमिताभ बच्चनको आगमनले राजेश खन्ना खसेको भनेर दावी गरे पनि सही अर्थमा राजेश खन्ना आफ्नै कमजोर फिल्मका कारण खस्दै गएका थिए । तर पनि उनी भन्थे, “मेरा फिल्म फ्लप भएका हुन् , म होइन..”
राजेश खन्ना आफूलाई श्रीपेच नभएपनि राजा मान्थे ।

भनिन्छ, सफलताको पछाडि कुनै कारण हुँदैन असफलताका पछाडि सयौँ कारण हुन्छन्, मान्छे असफल भएपछि म कहाँ र कसरी चुकेँ भनेर फर्की फर्की हेर्छन् तर सफल भएपछि पछाडि फर्केर हेर्ने मौकै मिल्दैन । राजेश खन्नाको सफलता त झन् अद्भूत कथा थियो, भूतो न भविष्य ।

भारतका सुप्रसिद्ध कवि एवम् फिल्म लेखक जावेद अख्तर भन्छन्, “राजेश खन्ना असफल हुनुमा उनको कुनै दोष छैन । उनी त पहिलो ओर्जिनल सुपरस्टार थिए, उनलाई के थाहा ? न उनले सुपरस्टारको न कुनै तालीम लिएका थिए न उनी भन्दा पहिले त्यहाँ न कोही पुगेका थिए । त्यो त हाम्रो भूल थियो ।”

सन् १९७६ मा राजेश खन्नाको ‘महाचोर’ रिलिज भएपछि टेड पत्रिकाले यस्तो सम्म लेखे, “महाचोर महाबोर ।”
यसपछि उनका लगालग सबै फिल्म फ्लप भए ।

दुई वर्षमा सत्र भन्दा वढी फिलम फ्लप भएपछि एक रात राजेश खन्नाको जीवनमा यस्तो घटना घट्यो । सारा परिवार सुतिसकेपछि उनी छानामा गएर एक्लै टोलाइरहे र मध्य चकमन्न रातमा पहिलो पटक उनले भगवानसित पुकारा गरे,
“हे परवदीगार, तँ कहिले सम्म यो गरीवको परीक्षा लिइरहन्छस् ? के म तेरो अस्तित्व छैन भनेर स्वीकारुँ ?”

त्यसपछि उनी रातभरि रोए एक्लै । केही वेर पछि उनकी पत्नी डिम्पल, उनकी छोरी र घरका स्टाफ पनि आए तर राजेशको रुवाई रोकिएन । यो घटनालाई उनले जीवनको एक असाध्य पीडाको क्षण मानेका छन् ।

यसपछि उनी ‘सौतन, अवतार, अगर तुम ना होते’ जस्ता सिनेमाबाट उदाए तर उनको त्यो राजसी युग फर्किन सकेन । मानौ राजेश खन्ना नामको युग वितीसकेको थियो । यसपछि उनले आफ्नै लगानीमा अलग अलग र जय शिव शंकर जस्ता सिनेमा पनि बनाए ती चलेनन् ।

अमिताभ वच्चन पनि सन् २००० सम्म निकै फ्लप भए तर उनले आफूलाई रिन्वेन्ट गर्न सके , यो उनको चलाखी थियो ।
यी दुवै राजनीतिमा गए, एउटै पार्टी काँग्रेस आई मा । तर दुवैलाई राजनीतिले लोप्पा खुवाईदिए । तर राजेश खन्ना पछि सम्म पनि राजनीतिको शिकार भए ।

१८ जुलाई सन् २०१२ मा राजेश खन्नाको देहान्त हुँदा सम्पूर्ण भारत मौन र स्तव्ध थियो । भोलिपल्ट १९ जुलाईमा नौलाख भन्दा वढी शवयात्री उनको महायात्रामा सामेल थिए, उनको प्रसिद्धीको दिनमा जस्तै उनको शवयात्रामा पनि लाठी चार्ज गर्नु परेको थियो । उनका समवयी वच्चनले ७० वर्षको उमेरमा चार किलोमिटर हिँडेरै अन्तिम विदाईमा सामेल भएका थिए ।

वच्चनले आफ्नो ब्लगमा लेखे, बलिऊडको रोमान्टिक मुस्कान खोसियो ।

खन्नाको विदाईमा वच्चन र खन्नाको पहिलो फिल्म आनन्दको संवाद् खूब गुञ्जियो, “आनन्द तुम मर नहीँ सकते ।”

प्रतिकृयाहरु
Loading...