कोरोना संक्रमितको सम्पर्कमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ, ४ जनाको बाँकी
- ध्रुवराज खनाल
चितवन । चितवनको खैरहनीमा काम गरि फर्केका सप्तरीका एक युवामा कोरोना संक्रमण देखिएपछि यहाँ कार्यरत रहँदा सम्पर्कमा रहेकाहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । ति युवाको सम्पर्कमा रहेकाहरु मध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले जानकारी दिए ।
अन्य दुई जना भने खैरहनी ६ का हुन् । दुई मध्ये श्रीमतीलाई लगातार ज्वरो आईरहेपछि श्रीमान श्रीमतीकै स्वाव परिक्षण गरिएको थियो । खैरहनी १३ गवैमा ज्याला मजदुरी गरेर घर फर्किएका १८ वर्षिय युवामा गत आईतबार कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनीसँग सम्पर्कमा रहेकाहरुका परिवारका सदस्यहरुको स्वाब परिक्षण गरिएको हो ।
ति युवाका ठेकेदार, घरबेटी र रासनपानी खरिद गरेको पसलका संचालक र उनीहरुको परिवारलाई बुधवार भरतपुर कोरोना अस्पताल लगेर स्वाब संकलन गरिएको थियो । यहाँबाट गएका ति युवा अन्य जिल्लाका मस्जिदमा पस्दै गएकाले उतै संक्रमण भएको अनुमान छ ।
यस्तै खैरहनी ६ मा रहेको मस्जिदमा बस्ने ४ जनाको स्वाब बिहीबार संकलन गरि परिक्षणको क्रममा रहेको जानकारी आएको खैरहनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताए । अधिकारीका अनुसार सम्भवत शुक्रबार बिहानसम्म ति चार जनाको पनि रिपोर्ट आउने छ ।
खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले यहाँ काम गरेर फर्किएका ति युवामा अन्य जिल्लाबाटै संक्रमण भएको रिपोर्टले पुष्टी गरेको बताए । देशभर संक्रमणको दर बढ्दै गएकाले सचेत रहन प्रमुख चौधरीले सम्पर्ण नगरवासीहरुलाई आग्रह गरेका छन् । आफ्नो क्षेत्रमा नयाँ मान्छे आएको देख्ने बित्तिकै नगरपालिका र प्रहरी प्रशासनलाई जानकारी गराउन समेत उनले आह्वान गरेका छन् ।