मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

इन्टरनेट, फेसवुक र ट्विटर नभएको भए कसरी वित्थ्यो होला है लकडाउन

  • केशब सापकोटा

लामो छुट्टी पाए जस्तै भएको छ आजकल । ५२ दिन भो घरबाट बाहिरिन नपाएको । यो लकडाउन मलाई बढ्तै भयो ।
वाफ रे ! ५२ दिन, ७ हप्ता ३ दिन ! १२४८ घण्टा । ३६००० मिनेट । अझै कतिदिन बस्नुपर्ने हो ? सोच्दापनि दिक्क लागेर आउँछ ।
हेर्नुहोस त मेरो रुटिन !
विहान ८ बजे उठ्छु ।

ओछ्यानमै आउने एक गिलास तातोपानी पछि एक कप कालो चीया पिउँनुभन्दा अगाडी मोवाइलमा कति मिसकल आयो, फेसवुकमा हिजो हालेको स्टाटसमा कति लाइक, कति कमेन्ट आयो कतिले शेयर गरे ? हेर्नु मेरो नित्यकर्म हो । पहिले–पहिले उठ्ने वित्तिकै बाहुनको छोरोले जनै हातमा लिएर गायत्री मन्त्र सय चोटी पढ्नुपथ्र्यो । आजकल सय जना बढिको स्टाटस नहेरी नपढी काँ चित्त बुझ्थ्यो र !

टिंङ्.. फेसवुकका मित्र अर्जुन खड्काले सधैं विहान उठाउँछन् ‘गुड मर्निङ’को स्टिकर पठाएर । ह्या, दिनदिनैको म्यासेज, दिक्क लाग्यो । सिन गरें । रिप्लाई दिनै मन लागेन । अर्जुनजी जस्तो मलाई कहाँ मित्रहरुको याद गर्ने फुर्सद छ र ! जिवनमा कतिले छोडे, कतिलाई आफैंले छोडें, त कतिलाई समयले छोड्यो ।

फेसवुकमा एकाध मित्रहरु छन् जो मलाई विहानै उठाउन होकि किन हो ५ बजेदेखि नै म्यासेन्जरको ढोका ढक्कढाउँछन् । एक मनले सोच्छु म असाध्यै स्वार्थी, घमण्डी भएको छु । पुराना साथीहरुसँग च्याटमा कुरा गर्छु सबै त्यसै भन्छन् । ‘पैसा कमाईस, साथीभाइ भुलिस् !’

उनीहरुलाई के’था ! पैसा कमाएँ किँ, कमाइन । बस च्याटमा ‘ठूलो भइस’ भन्दियो भैगो । हाँसेको इमोजी पठाउँछु । उनीहरु रिसाएको पठाउँछन् ।
ठिकै छ, आ–आफ्नो भाग्य आ–आफ्नो कर्म !

आजकल चैं फेसवुक, भाइवर, ह्वाट्सएपले साथीभाइसँग नजिक बनाएको छ । दैनिकीसँगै घर ब्यवहारका कुरा हुन्छ । तैपनि म च्याटमा धेरैसँग कुरा गर्दिन ।

अरुको स्टाटस हेर्दाहेर्दै १ घण्टा कतिबेला वित्छ थाहै हुन्न । बल्ल सिरकबाट ज्यान बाहिर निस्कन्छ । घरकाले एक लट चिया पिइसकेका हुन्छन् । म घाम आँगनमाथि पुग्दै गर्दा उठ्छु ।

‘सुत सुत, कतिञ्जेल सुत्छस्, यै लकडाउन भरी त होला ।’ घरकाले मायाले हैन, गिज्याएर भन्या मलाई था‘छ । ‘लकडाउन छ, काँ जानु ? फेरी बाहिर हिँड्नु हुँदैन कोरोना लाग्छ ।’ उल्टै घरकालाई थर्काउनु मेरो नित्य क्लास हो । बा’आमा विहान ५ बजे उठ्छन्, एक राउण्ड चोक र मन्दिर लगाउँछन् । वरपिपलले फ्यालेको चौतारोको चिसो हावा खान्छन् । म कोठाभित्र सिरकमा लुकेर पंखाको तातो हावा खान्छु ।

अरुले खाना खाने बेला म चिया खान्छु । चिया खादै गर्दा हातमा मोवाइल चलाउन विर्सन्न । फेसवुक, ट्विटर, इन्ष्टामा नियाल्दै गर्दा अगाडी टेलिभिजनमा यसो समाचार हेर्छु । समाचार हेरेको पनि के भन्नु ! टिभी खोल्या छ, समाचारमा के भन्यो था’पाए पो ? मन मोवाइलमा छ, आँखा टिभीमा ।

‘छ्या कत्ति मस्यौरा आलु ?’ आजकल तरकारीमा मस्यौरा आलु दिनको एकपल्ट हुन्छ । ‘अब तँलाई भनेर काँबाट मिठोमिठो खोज्नु ?’ आमाको गनथन शुरु भो । ‘यस्लाई जे पकाएर दिँदा पनि मन पर्दैन ।’

नेपाली च्यानल त हेर्नै मन लाग्न छाड्यो आजकल न्यूज च्यानलको कामै छैन खाली लकडाउन, कोरोनाको मात्र समाचार दिन्छ । अब त विज्ञापन पनि कोरोनाकै रहेछ । ‘घरभित्रै बसौं कोरोना भगाऔं’

म मात्र घरभित्र बसेर कोरोना भाग्ने होर ? सिमामा ग्वार्रग्वार्ती कोरोना बोकेर आउनेहरुलाई रोक्नु छैन । सुरक्षित गर्नुछैन !
हिन्दी च्यानल लगाउँदा पनि त्यस्तै ‘आप अन्दर, कोरोना बाहर रे’

नेपाली, हिन्दी, इङ्लिस, जापनीज, कोरियन, चाइनीज, अरबी, पाकिस्तानी केके हो केके । च्यानल चेञ्ज गर्दा गर्दै १० बज्छ ।
‘ओइ, खाना खान आइज !’ भान्साबाट आवाज आयो ।

‘छ्या कत्ति मस्यौरा आलु ?’ आजकल तरकारीमा मस्यौरा आलु दिनको एकपल्ट हुन्छ । ‘अब तँलाई भनेर काँबाट मिठोमिठो खोज्नु ?’ आमाको गनथन शुरु भो । ‘यस्लाई जे पकाएर दिँदा पनि मन पर्दैन ।’

हुनपनि हो, मलाई आजकल भान्सामा छिर्न मनै लाग्दैन । अरुबेला अफिस हुन्थ्यो, दिनहुँ एउटा न एउटा पार्टीमा गइन्थ्यो, चिकन, मटन, मसरुम, चाइनिज, इटालियन, फ्रेन्च, थकाली केके हो केके ! सात दिनमा सात थरीका पकवान खाएको जिब्रोले छाक विराएर मस्यौरा खानु पर्दा स्वादै थाहा नपाउने भो ।

५२ दिन भो ममः चाउमिन खान नपाएको । ममः, चाउमिन, पिज्जा, कफी सम्झँदै मुखभरी पानी आयो ।
खान त परिहाल्छ । मुख विगारी विगारी, मेथीका दाना केलाउँदै दुई चार गाँस खानै पर्यो ।

११ बज्यो ।
अरु बेला ९ नबज्दै आएर अफिस कुद्नुपर्ने ज्यान आजकल खाना खाएपछि ओछ्यानाँ लड्छ । भात खाएर सुतेपछि मोटाइन्छ भन्थे, आफ्नो मरञ्च्यासे ज्यान ५२ हप्ताभर सुतेरै विताउँदा एक किलो मोटाएन ।

मोवाइल, टिभी, फेसुवक, इन्ष्टा, ट्विटर । युट्युवमा गीत सुन्दैथे, कतिबेला निदाइछु थाहै भएन ।
‘ओइ सुतुवा, कति सुत्छस् ?’ बाहीरबाट आवाज आयो । ‘खाजा खाने बेला‘भो । ३ बज्नै लागेछ । चिया विस्कुट, पाउरोटी रहेछ । मन नलागी नलागी खानै पर्यो ।
‘कति खानु च्या’विस्कूट ?’ अरुबेला पिज्जा, वर्गर ममः हुन्थो । म कल्पिँदै खाँए ।

चोकतिर जानु पर्यो ।
आँगना पुगेका खुट्टा एक्कासी गले । ‘सप्पै बन्द छ, के खान जानु ? कोरोना लाग्यो भने ?’ गेट खोल्न पनि अल्छि लाग्यो, तनन्क आङ तन्काएँ । फरक्क फर्किएँ ।

ल्यापटप खोलें, न्यूज पोर्टल हेर्न थालें, युट्युव खोलें । फेर फेसवुक, ट्विटर ।
‘बेबी केछ ?’ राता पानको पातसँगै आएको तृष्णाको म्यासेज हेरें । हिजो पनि त्यै सोधेको, आजपनि त्यै, कत्ति जवाफ दिनु ? वास्तै गरिन् ।
‘ओ हेल्लो को सँग हो के ?’
‘किन नबोल्या ?, के भयो ?’
अर्को म्यासेज आयो ।
‘हैन त्यत्तिकै बसि’रा । अल्छी लागिलागि लेखें ।
‘त्यत्तिकै होकि के हो ? म बुझ्दैछु ।’ रिसाको इमोजी आयो ।
हैन, अल्छी लागीरा’को छ । त्यै भर । तिमी के गर्दैछौं ।’
‘म नाचीरा’को’ अर्को रिसाको इमोजी ।
दिक्क लाग्यो । लगआउट भएँ ।
जहिल्लै उसको नौटंकी ।

इण्डियन न्यूज च्यानलको समाचार भन्ने स्टाइल चैंं मान्नै पर्छ । तीललाई पहाड बनाउन कति खप्पीस । ‘चाइनीज माल आज है कल नहिँ लेकिन यै कोरोनाका दहशत क्यू नहिँ जाता ?’

उसले फोनै गरी ।
‘हैन तिमीलाई बोल्नु मन छैन भने सिधै भनन म बोल्दिन, आजकल तिम्रो खुब भाउ बढ्दैछ ।’ उसले भनि ।
हैन, त्यस्तो के, बेबी, अल्छि लागिरा’को छ बस्दाबस्दा त्यै भर ।
‘अब मसँग बोल्नपनि अल्छी लाग्यो है !’ उसले कर्कस स्वरमा भनी ।
‘हैन के कान्छु ! अनी के गर्दैछौ ? खाजा खायौ ? बेबी अब के गर्ने हो ?’ फकाउन खोजें ।
‘भनि हाले त नाच्दैछु । तिम्रो टाउको खाँए, अब गिदी खान्छु ।’ जवाफ सुनेर टाउको रन्थनियो ।
‘ह्या, कत्ति चाटेको के ?, भयो अब पुग्यो ।’ रिसाउँदै फोन काटिदिएँ ।
यी केटीहरुको भाउ खुब बढेको छ आजकल । मुर्रमुरिएँ ।
उसले नखरा गर्न हुने मैले नहुने ?

ओहो, ब्याट्रि डाउन भएछ । स्विच अफ नै गरेर चार्जमा राखें ।
बस्दाबस्दा ढाढै दुख्यो ।
टिभी हेर्दै सुते, सिएनएन, विविसी, अलजजिरा हेरें, कोरोनाकै समाचार । आजतकमा चीन र ट्रम्पको समाचार रैछ । इण्डियन न्यूज च्यानलको समाचार भन्ने स्टाइल चैंं मान्नै पर्छ । तीललाई पहाड बनाउन कति खप्पीस । ‘चाइनीज माल आज है कल नहिँ लेकिन यै कोरोनाका दहशत क्यू नहिँ जाता ?’

जी न्यूज, स्टार न्यूज सबै उस्तै । नेपाली च्यानलका समाचार भन्ने हेर्दा नै दिक्क लाग्ने क्या । न जिउडाल मिलेको न लवज । हेर्दा हेर्दै निन्द्रा लाग्ने । क्रियटिभिटी त छंदैछैन । विषेश रिपोर्ट रे, त्यो पनि कोरोनाबाट कसरी बच्ने रे ? घर बस्दाबस्दा वाक्क भएको म झन वाक्क भएँ ।

आ, बरु, फिलिम पनि हेर्छु ।

स्टार प्लस लगाएँ, अमिताभ बच्चनको सुर्यबंशी रहेछ ।
उफ्, कत्ति हेर्नु । स्टार प्लसले सुर्यबंशीलाई हजार चोटी देखायो होला । हप्ताको दुई पल्ट नदोहोरिएको दिन हुँदैन ।
यता पल्टिएँ, उता पल्टिएँ । ७ बज्नलाई सात दिन लागे जस्तो भो ।
घरकाले दिन भर केके गरे कताकता गए । मैले कोठा, ट्वाइलेट र भर्याङ मै दिन विताएँ ।

खाना पाक्यो आइज, बा’ले कराउँदा साँढे सात भएछ ।
आज चैं नयाँ तरकारी आएछ घरमा । कटर मलाई मनपर्ने ।
‘तेरा घाँटीबाट सितै छिरेनन, त्यै भर ल्याइदे‘को ।’ मासु नभएपनि मासु जस्तै लाग्छ कटरको तरकारी ।
थोरै भएपनि मन प्रफुल्लीत भो ।

कटरको तरकारी, मासको दल, गोलभेंडाको अचार । झण्डै दुई थाल भात गयो ।
काम त केही छैन । अफिसको काम अफिसमा नगइ हुन्न ।
हातमुख चुठेर एकछिन सोफामै पल्टिएँ ।
ओहो, मोवाइल त अहिलेसम्म अफ रहेछ ।
चार्जमा राखेको मोवाइल फुल भएछ ।
स्विच अन गरें ।

तृष्णाले म्यासेजको वर्षा गरिछे ।
ओ हेल्लो, कित रिसाको ?
ल ल मै सरी भन्छु, फोन अन गर त ?
ओ निस्टुरी मरन्च्यासें ?
केहीहरुलाई पो रिसाउँदा सुहाउँछ त केटालाई काँ सुहाउँछ ?
प्लिज नरिसाउन के सरी नि ल !

लवसाइनका स्टिकरसहित आएका म्यासेजले मनमा लड्डू फुट्यो ।
‘छैन रिसा’को । एकछिनमा भिडियो कल गर्छु है !
रिप्लाई दिएँ । उसले सिन गरीन ।

बेलुकी सधैं ८ बजे उ विजी हुन्छे । घरधन्दामा । ममीलाई सघाउँछे ।

मलाई थाहा छ उ, नौ बजे भिडियो कलमा आउँछे ।
अफिसको एउटाले सर, नमस्ते भन्दै म्यासेज गर्यो । रिप्लाई दिन मन लागेन । लग आउट गरेर टिभी हेर्दै सोचें,
साँच्ची यो फेसवुक, इन्टरनेट, युट्युव, टिभी मोवाइल नभएको भए कसरी वित्थ्यो होला नी हाम्रो दिन ?

प्रतिकृयाहरु
Loading...