मोहन वैद्यको पार्टीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) ले कालापानीमा भारतीय हस्तक्षेपविरुद्ध संघर्षको उत्रिने घोषणा गरेको छ। बुधवार बसेको स्थायी कमिटी बैठकपछि महासचिव मोहन वैद्य ‘किरण’ले एक विज्ञप्ति जारी गरी देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षाका लागि संघर्षमा उत्रिने घोषणा गरेको हो।

अहिले कोरोना भाइरस महामारीको मौका छोपेर भारतले नेपालमाथि हस्तक्षेप बढाएको उनले बताए। सरकार महामारीको निहुँमा चुपलागेर बस्ने र देशको भौगोलिक अखण्डतामा गम्भीर आँच आउने स्थिति पैदा भएको नेकपा क्रान्तिकारी माओवादीको ठहर छ। सरकारले भारतीय हस्तक्षेप तथा कोरोना भाइरस प्रकोप लगायतका विषयमा प्रभावकारी काम गर्न नसकेकोले केपी शर्मा ओलीको प्रधानमन्त्री पदबाट राजीनामा समेत माग गरेको छ।

‘अहिलेको यो संवेदनशील घडीमा सबै कुरा ठीकठाक छ भनेर प्रस्तुत हुने, भारतसित कुनै प्रभावकारी वार्ता, संवाद तथा पहल गर्न नसकी निष्क्रिय रक्षात्मक स्थिति तथा दलालीको मानसिकतामा रमाउने, राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आवाज उठाउने तथा स–साना विरोध प्रदर्शनमा संलग्न हुने देशभक्त नेपालीहरुमाथि निर्लज्ज दमनमा उत्रने, कोरोना भाइरसको प्रकोपबाट पीडित जनताका लागि यथोचित राहत उद्धार गर्न नसक्ने वर्तमान प्रधानमन्त्रीका लागि अब कुर्सीमा टाँसिएर बसिरहने कुनै नैतिक अधिकार छैन। तसर्थ, हाम्रो पार्टी प्रधानमन्त्री केपी ओलीको अविलम्ब राजीनामाको माग गर्दछ।’ वैद्यको विज्ञप्तिमा छ ।

सीमा विवादको समाधानका लागि कूटनीतिक पहल, राजनीतिक वार्ता, आदिको आवश्यकता पर्ने भएपनि अव यो मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने बेला आएको वैद्ययले बताएका छन्। उनले कोरोना भाइरसका कारण अतिविचल्ली र अलपत्र परेका नेपाली नागरिकहरुको उद्धार तथा राहतका लागि यथाशीघ्र व्यवस्था मिलाउन माग गरे।

प्रेस–वक्तव्यको पूर्णपाठ

१. देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकतामाथि हस्तक्षेप गरिएको र कोरोना भाइरस कोभिड–१९ जस्तो महामारी फैलिएको वर्तमान अतिगम्भीर एवम् संवेदनशील अवस्थामा देशमा अस्तित्वशील सबै राजनीतिक पार्टीहरू, नागरिक समाज तथा सीमाविद, परराष्ट्रविद सहितका प्रबुद्ध बुद्धिजीवी एवम् पत्रकारहरुलाई समावेश गरी सर्वपक्षीय बैठक बोलाउनु पर्नेमा सरकारद्वारा संसदमा प्रतिनिधित्व गरेका पार्टीहरुलाई मात्र बोलाई सर्वदलीय बैठक बोलाइएको भनी नाटक गरिएकोमा त्यसको हामी कडा विरोधगर्दै यस अतिसंवेदनशील विषयमा सम्बन्धित सबै पक्षसित राष्ट्रिय सहमति गर्न जोडदार अनुरोध गर्दछौं ।

२. सीमा विवादको समाधानका लागि कूटनीतिक पहल, राजनीतिक वार्ता, आदिको आवश्यकता पर्दछ । तर, भारतले ती सबैलाई लत्याउँदै प्रबुद्ध व्यक्ति समूह (इपीजी)को रिपोर्ट लिन समेत अस्वीकार गर्दै र एकतर्फी रुपमा आक्रामक ढंगले आफ्ना समस्त कारवाही तथा गतिविधि बढाउँदै लगेको स्थितिमा अब कूटनीतिक पहल तथा राजनीतिक वार्ताको कुरा गर्नु अति कमजोर अर्थात् निष्क्रिय प्रतिरक्षा मात्र नभई राष्ट्रिय आत्मसर्मपणवाद तथा दलाली बाहेक अरु केही हुन सक्तैन । तसर्थ, हाम्रो पार्टी महाकाली पूर्वको लिम्पियाधुरा, कालापानी तथा लिपुलेकसम्मको भूभाग र त्यस अतिरिक्त सुस्ता, महेशपुर लगायत सीमा क्षेत्रमा भारतीय विस्तारवादद्वारा गरिंदै आएको हस्तक्षेपको विरोध र देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि — (क) समग्र नेपाली भूभागलाई समेटी शीघ्रातिशीघ्र नेपाली नक्साको सार्वजनिकीकरण (ख) लिम्पियाधुरासम्मका सबै सीमा क्षेत्रमा अविलम्व सुरक्षाफोर्सको तैनाथी, (ग) नेपालको सीमा क्षेत्रमा तारबारको लागि यथाशीघ्र पहल र (घ) नेपाली भूभागमा गरिएको हस्तक्षेपको विरोध तथा नेपाली सार्वभौमिकता रक्षाको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न समेत जोडदार माग गर्दछ ।

३. यो बेला विश्वव्यापी रुपमा कोभिड–१९ को महामारी फैलिएको र रोजगारीमा भारत लगायत विभिन्न देशहरुमा गएका नेपाली जनता अतिविचल्ली र अलपत्र परेका छन् । उनीहरुलाई उद्धार तथा राहतको व्यवस्थापन गरिनु पर्नेमा उल्टै लखेट्ने, अपमानित गर्ने काम पनि हुँदै आएका छन् । सम्बन्धित देशमा रहेका नेपालीहरुको समुचित उद्धार तथा राहतको लागि सम्बन्धित देशसित आवश्यक पहल गर्न र स्वदेशमा आउन चाहने नेपालीहरुका लागि यथाशीघ्र व्यवस्था मिलाउन पार्टी पुनः जोडदार माग गर्दछ ।

४. अहिलेको यो संवेदनशील घडीमा सबै कुरा ठीकठाक छ भनेर प्रस्तुत हुने, भारतसित कुनै प्रभावकारी वार्ता, संवाद तथा पहल गर्न नसकी निष्क्रिय रक्षात्मक स्थिति तथा दलालीको मानसिकतामा रमाउने, राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आवाज उठाउने तथा स–साना विरोध प्रदर्शनमा संलग्न हुने देशभक्त नेपालीहरुमाथि निर्लज्ज दमनमा उत्रने, कोरोना भाइरसको प्रकोपबाट पीडित जनताका लागि यथोचित राहत उद्धार गर्न नसक्ने वर्तमान प्रधानमन्त्रीका लागि अब कुर्सीमा टाँसिएर बसिरहने कुनै नैतिक अधिकार छैन । तसर्थ, हाम्रो पार्टी प्रधानमन्त्री के. पी. ओलीको अविलम्ब राजीनामाको माग गर्दछ ।

५. अहिले कोरोना भाइरसजन्य महामारीको मौका छोपेर भारतले हस्तक्षेप बढाउने, त्यही महामारीको निहुँमा सरकार चुपलागेर बस्ने र देशको भौगोलिक अखण्डतामा गम्भीर आँच आउने स्थिति पैदा भएको छ । यो वेला त्यसै चुप लागेर बस्नु हुँदैन र संघर्षको प्रक्रियामा अगाडि बढ्नु आवश्यक हुन्छ । यस स्थितिमा हाम्रो पार्टी देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षाका लागि अविलम्व देशको समग्र भूभाग समेटिएको नेपाली नक्सा सार्वजनिकीकरण गर्न, लिम्पियाधुरासम्मको नेपाली भूभागमा सुरक्षाबल राख्न, नेपालको सीमा क्षेत्रमा तारबारको प्रक्रिया अगाडि बढाउन र महाकाली पूर्व लिम्पियाधुरा, कालापानी तथा लिपुलेक सहित सीमा सम्बन्धी विषयलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि ससाना कार्यक्रम सहित संघर्षमा उत्रने घोषणा गर्दछ । साथै, यस प्रक्रियामा हाम्रो पार्टी कोरोना महामारीबाट पीडित जनताको समुचित राहत तथा उद्धारको मागलाई समेत संघर्षको कार्यसूचीमा समावेश गर्दछ ।

६. आज देशमा मुख्यतः राष्ट्रिय स्वाधीनता एवम् सार्वभौमिकताको रक्षा गर्न र यसका साथै कोरोना भाइरसजन्य महामारीको रोकथाम तथा जनताको उपयुक्त उद्धार राहतको प्रबन्ध मिलाउन, बेरोजगारहरुका लागि रोजगारी वा बेरोजगारी भत्ता उपलब्ध गराउनका लागि बृहत राष्ट्रिय संयुक्त मोर्चाको आवश्यकता छ । तसर्थ, हाम्रो पार्टी सम्पूर्ण राजनीतिक पार्टीहरू, देशभक्त शक्तिहरु, नागरिक समाज, प्रबुद्ध बुद्धिजीवीहरू तथा पत्रकारहरू बीच कार्यगत एकता वा आवश्यक तालमेल मिलाई संयुक्त संघर्षको तयारीमा जुटुन, त्यसबारे आवश्यक छलफल चलाउन तथा एकताबद्ध हुनका लागि विशेष अनुरोध एवम् आह्वान गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *