अमेरिकामा बेरोजगार भत्ताका लागि ३ करोड ६० लाखले भरे फाराम


वाशिङ्टन । अमेरिकामा कोरोना भाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् ।
यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो दुई महिनामा भएको जनाइएको छ । उनीहरुमध्ये झण्डै तीस लाखले पछिल्लो एक हप्तामा मात्रै फाराम भरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
बेरोजगार भत्ताको दावी गर्नेहरुको सङ्ख्या बढ्दै गएपछि सरकारले केही राज्यहरुमा व्यापारिक तथा व्यवसायिक गतिविधिलाई पुनः सञ्चालन गर्न अनुमति दिएको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि अहिले लाखौँ मानिसले अमेरिकामा रोजगारी गुमाएको श्रम विभागले बिहीबार जनाएको छ ।
यति धेरै मानिस एकैचोटी रोजगारविहिन भएको र बेरोजगार भत्ता पनि यति धेरै मानिसले एकै पटक मागेको यो दुर्लभ घटना भएको अधिकारीहरुले जनाएका छन् । बेरोजगार भत्ताका लागि फाराम भरेका मध्ये केही राज्यका कतिपयले भने अहिले पनि त्यो राहत प्राप्त गर्न निकै कठिनाई भइरहेको बताएका छन् । – सीएनएन
