संक्रमित युवकका परिवारको परीक्षणको नतिजा नेगेटिभ

राजविराज । कोरोना भाइरस संक्रमण पुष्‍टि भएका सप्तरीका १८ वर्षीय युवकका परिवार र साथीहरूको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा परीक्षण गरिएको २३ जनाको स्वाबको पीसीआर नतिजा नेगेटिभ आएको हो।

कोभिड-१९ पुष्‍टि भएका डाकनेश्‍वरी नगरपालिका-३ का युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका आमा, हजुरबा, हजुरआमा र चितवनबाट सँगै आएका १२ जना साथीको स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।

यस्तै, डाकनेश्‍वरी-५ पातोस्थित क्‍वारेन्टाइनमा संक्रमित युवकसँगै कोठामा बसेका दुई, कपिलवस्तुबाट आएका तीन र नियमित क्‍वारेन्टाइनको ड्युटीमा रहेका दुई प्रहरी र एक स्वास्थ्यकर्मीको समेत स्वाबको रिपोर्ट नेगेटिभ आएको छ।

यादवका अनुसार परिवारका दुई महिला र २१ पुरुषलाई पातोस्थित क्‍वारेन्टाइनमा राखिएको छ। लकडाउनका बेला चितवनबाट ८ वैशाख मध्यराति निस्लिएर उनीसहित १३ मजदुर ट्रक, ट्याक्टर र पैदल हुँदै ९ वैशाखमा सप्तरी आएका थिए। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *