काठमाडाैंमा फोहोरमैला संकलन गर्नेहरुमा कोरोना परीक्षण
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सरसफाई क्षेत्रमा काम गर्नेहरुको आज (शुक्रबार) कोरोना भाइरस (कोभिड १९) परीक्षण गरिएको छ ।
पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं महानगरपालिकाका सफाइ कर्मचारी र फोहोरमैला संकलन गर्नेहरुमा आरडीटी र पीसीआर विधिबाट परीक्षण गर्न लागिएको हो ।
देशभरि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले उपत्यकामा १० हजारको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको छ । सो लक्ष्य अनुरुप शुक्रबार काठमाडौंको टेकुमा उनीहरुको लागि स्वाब संकलन गरिएको हो ।
महानगरपालिकाले हिजो (बिहीबार) काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी बिक्री गर्ने, ढुवानीलगायतका काममा संलग्नको कोरोना परीक्षण गरिएको थियो ।
बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद बिक्रीमा संलग्न हुने व्यवसायी, व्यवसायीका सहयोगी, ढुवानीमा संलग्न हुने चालक, सहचालक, भरिया, सरसफाइ मजदुर, सुरक्षाकर्मी र कर्मचारी गरी ६ सय जनाको नमुना सङ्कलन गरिएको हो ।