‘काेराेना संकटमा सबैको जीवन रक्षा गर्न सरकार सफल भयाे’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ को संक्रमण प्रारम्भ भए लगतै नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट रणनीतिका कारण नेपालभित्र सबैको जीवन रक्षा गर्न सफल भएको बताएकी छिन् ।

आज (शुक्रबार) संघीय संसदको दुवै सदनको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको समन्वयात्मक कार्यशैली एवम् सबै नेपालीको एकता, धैर्य र सहयोगले अहिलेसम्म यस रोगको संक्रमणबाट नेपालभित्र सबैको जीवन रक्षा गर्न सफल भएको बताएकी हुन् ।

यस्तै उनले संक्रमण थप फैलन नदिन र यस महामारीमाथि विजय प्राप्त गर्न आगामी दिनमा अझ बढी सतर्कता, समन्वय र एकता आवश्यक भएकोले एक ढिक्का भएर दृढताका साथ लाग्न सबैमा आह्वान गरेकी छिन् ।

जोखिमपूर्ण परिस्थितिमा अग्रपंक्तिमा रहेर सेवा गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक लगायत सम्पूर्ण राष्ट्रसेवकको उनले प्रशंसा गरिन् ।

साथै उनले अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन योगदान गर्ने सबै व्यक्ति तथा संघ संस्थालाई धन्यवाद दिन दिइन् । कोभिड १९ संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले चालेको कदममा पूर्ण साथ दिइ सहयोग गरेको भन्दै उनले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार व्यक्त गरिन् ।

महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा योगदान पुर्याउनुहुने संघ, प्रदेश, स्थानीय तहका प्रतिनिधि तथा कोरोना कोषमा उपचारका लागि रकम उपलब्ध गराउने सबैलाई धन्यवाद दिइन् ।

नेकपा सरकार जनताको आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै जनभावना अनुरुप लोकतन्त्रलाई सुदृढ र विकास गर्न प्रतिबद्ध रहेको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *