पार्टीलाई भावनात्मकरूपमा एकताबद्ध बनाउनु मुख्य कार्यभारः मुख्यमन्त्री गुरुङ
कास्की। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश कमिटीका इञ्चार्ज एवं प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीलाई वैचारिक, सैद्धान्तिक, राजनीतिक, साङ्गठनिक एवं भावनात्मकरूपमा अझै एकताबद्ध बनाउनु मुख्य कार्यभार रहेको बताएका छन्।
२७औँ मदन–आश्रित दिवस एवं दोस्रो पार्टी एकता दिवसका अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले तत्कालीन नेकपा (एमाले) र (माओवादी केन्द्र)का बीचको एकतापछि नेपालको कम्युनिस्ट आन्दोलनले देशभित्र मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनमा समेत नयाँ पहिचान र उचाइ स्थापित गर्न सफल भएको उल्लेख गरे।
नेपालको कम्युनिस्ट आन्दोलनले आफ्नो निर्दिष्ट लक्ष्यमा सफल भइ विश्व कम्युनिस्ट आन्दोलनलाई समेत दिशानिर्देश गर्न सक्नुपर्नेमा उनले जोड दिए।
‘सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवाद विरोधी जनताको जनवादी व्यवस्थालाई सुदृढ पार्दै नेपाललाई २१औँ शताब्दीको पहिलो समाजवादी मुलुकका रूपमा स्थापित गर्नका लागि बलियो आधार तयार पार्न पार्टीलाई अभेद्य एकता र फलामे अनुशासनका साथ अघि बढाउँदै निष्ठा र धैर्यतापूर्वक लाग्न आजको यस दिनले हामी सबैलाई थप प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु,’ सन्देशमा भनिएको छ।
मानव जातीको अस्तित्वका लागि चुनौती बनेर आएको कोभिड–१९ विरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न र यस संकटको बेलामा अझ दृढतापूर्वक जुट्नसमेत थप प्रेरणा प्राप्त होस् भन्ने कामना इन्चार्ज गुरुङले गरे। -रासस