शिक्षामा नयाँ ढंगले कार्यक्रम ल्याउन खोजे पनि परम्परागत

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) महामारीको भिन्न परिस्थितिमा आएको सरकारको नीति तथा कार्यक्रममा शिक्षाका कार्यक्रम भने परम्परागत ढङ्गले नै आएको विज्ञले बताएका छन्। शिक्षा पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘सरकारको नीति तथा कार्यक्रममा शिक्षा’ विषयक भर्चुअल अन्तक्र्रियामा शिक्षाविद् केदारभक्त माथेमाले सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक शिक्षामा सुधार ल्याउने, विद्यार्थी भर्ना र टिकाउ, विज्ञान विषयमा जोड, बालविकास र विश्वविद्यालय पाठ्यक्रम सुधार सकारात्मक रहे पनि नयाँ कार्यक्रम ल्याउन नसकेको बताए।

‘धनी र गरिबको असमानताको खाडल सम्बोधन गर्न सार्वजनिक विद्यालय सबल हुनुपर्छ,’ उनले भने, ‘विपद्ले अवसर पनि ल्याउँछ। अहिले त्यो मौका थियो। त्यो नीति तथा कार्यक्रमले लिन सकेको देखिएन। केही नयाँ ढङ्गले आउन खोजे पनि कार्यक्रम परम्परागत नै भयो।’ उनले चिनौँ आफ्नै माटो, बनाऔँ आफ्नो देशजस्ता कार्यक्रम राम्रा रहेको धारणा राखे। योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेलले आधारभूत शिक्षा गुणस्तरीय दिने ग्यारेन्टी, आन्तरिक बजारको माग र परिवर्तित सन्दर्भमा रोजगारी दिनसक्ने सीप र प्रविधिमैत्री शिक्षामा सरकारको जोड हुनुपर्ने बताए।

‘गाउँ गाउँमा प्राविधिक शिक्षालय खुल्ने तर युवाले काम नपाउने हुनुहुँदैन,’ उनले भने, ‘नीति तथा कार्यक्रम जतिसुकै राम्रा भए पनि कार्यक्रम पक्ष कमजोर रहेका छन्।’ कारोना महामारीले वैदेशिक रोजगारी घटेर युवा स्वदेश फर्किने भएकाले गाउँमै जीवनोपयोगी सीपयुक्त अवसरहरु उपलब्ध गराउनुपर्ने पूर्वउपाध्यक्ष पोखरेलले बताए।

उनले भने, ‘आधारभूत तहको गुणस्तरीय शिक्षा र स्वास्थ्य गाउँमा नपुगेसम्म युवा गाउँमै टिक्ने स्थिति रहँदैन। त्यसैले सामुदायिक शिक्षामा सुधार ल्याउनु अनिवार्य छ।’ शिक्षाविद् डा मिनाक्षी दाहालले सरकारले पहिलोपल्ट नीति तथा कार्यक्रममा बालविकासलाई पनि राम्रोसँग समेट्न खोजेको भए पनि आठ वर्षमुनिका बालबालिकालाई समेट्ने कुरामा फेरि पनि चुकेको बताए।

‘बालबालिकालाई सिकाउन शिक्षकमा छुट्टै सीप र दक्षता चाहिन्छ। शैक्षिक प्रमाणपत्रले मात्र पुग्दैन,’ उनले भने, ‘अहिले शिक्षामा पुनःसंरचना गर्न सकिने अवसर थियो । तर, नीति तथा कार्यक्रम ठूलो परिवर्तन ल्याउने ढङ्गले आएन।’ शिक्षा पत्रकार समूहका महासचिव जनक नेपालले शिक्षाका महत्वपूर्ण मुद्दामा भर्चुअल अन्तक्र्रिया गर्दैआएको जानकारी दिए। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *