प्रहरीकै सामुन्ने डाक्टरको मानमर्दन, स्वयंसेवाका नाममा सडकमा गुन्डागर्दी

काठमाडौं । उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्ने निहुँमा टोले स्वयंसेवीले कोरोना संक्रमणको जोखिम र नियन्त्रणमा फिल्डमा खटिएका डाक्टरको हुर्मत लिएका छन् ।

शुक्रबार दिउँसो काठमाडौंको नागढुंगामा स्थानीय तहले खटाएका स्वयंसेवीले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की सवार गाडी खानतलासी गर्दै उनको हुर्मत लिएका हुन् । त्यो पनि प्रहरीकै सामुन्ने ।

चितवन र हेटौँडामा कोरोना भाइरस परीक्षणको किट सकिएपछि डा.कार्की काठमाडौं हिँडे । सहयोगीसहित गाडीमा हिँडेका उनी उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा करिब १२ बजे आइपुगे । नाकामा सुरक्षाकर्मी देखिए । उनीहरूसँगै उभिएका थिए, युवाका केही हुल । प्रहरीले गाडी रोक्न संकेत गर्‍यो । डा.कार्कीले संकेत गरेकै ठाउँमा गाडी रोके । तर, चेकिङ गर्न प्रहरी आएन । हुल बाँधेर उभिएका युवा गाडीनजिक आए । गाडीको झ्याल खोलेर बसेका कार्की भित्रै थिए ।

एक युवाले निर्देशन शैलीमा गाडीको पास देखाउन भने । कार्कीले पास देखाए । युवाले पासमा रहेको मोबाइल अन गरे । भिडियो बटन थिचे । भिडियोलाई फेसबुकको लाइभ मुडमा लगे । अनि कार्कीसँग सोधपुछ गर्न थाले । हुलहुज्जतसहित उत्रिएका युवाका गतिविधिसामु कार्की निरीह बने । खुरुखुरु प्रश्नको जवाफ दिँदै गए ।

युवा यतिमै रोकिने पक्षमा थिएनन् । उनीहरू अब गाडी खानतलासी गर्नतर्फ लागे । कार्कीलाई गाडीबाट झर्न भने । आदेशअनुसार नै उनी झरे । पछाडिको सिटमा झोला देखियो । युवाले झोला खोल्न भने । उनले झोला खोले । झोलाको पत्रमा कागजात फेला परेपछि डिकी खोल्न भने । उनले डिकी पनि उघारेर देखाए ।

केही फेला नपरेपछि युवाले डाक्टरको नाम सोधे । काम गर्ने संस्थाको परिचय मागे । कार्यरत संस्थाको ओहोदा सोधे । उनले सबै प्रश्नको जवाफ दिँदै गए, नयाँ पत्रिकामा समाचार छ । कमजोरी पत्ता लगाउन नसकेर दिक्क भएका युवाको ध्यान अचानक डाक्टरको मुखमा पुग्यो । किनकि उनको मुखमा मास्क थिएन । यही कमजोरीलाई प्रयोग गरेर युवाले डा.कार्कीलाई दिनुसम्म दुःख दिए ।

नाका चेकिङको सुरक्षा जिम्मा पाएका प्रहरी निरीक्षक हेमन्तविक्रम थापा पनि नजिकै उभिएका थिए । मातहत खटिएका सुरक्षाकर्मी उनीसँगै थिए । तर, चिकित्सकको हुर्मत काढ्ने युवाको गतिविधि रोक्न उनीहरूले जरुरी ठानेनन् ।

यता गृह मन्त्रालय प्रवक्ता केदारनाथ शर्माले नागढुंगा नाका हुँदै लुकीछिपी काठमाडौं आउनेको सूचना पटक–पटक आएपछि त्यसलाई रोक्न स्थानीय सरकारका प्रतिनिधिबाट आग्रह बताए । ‘सहजीकरण गर्न हामीले स्थानीय तहलाई भनेकै हौँ,’ उनले भने, ‘तर, खानतलासीमै उत्रन भनेका छैनौँ । खानतलास गर्न, सोधपुछ गर्न प्रहरीबाहेक कसैलाई पनि अधिकार छैन ।’

‘कोही व्यक्ति त्यस्ता गतिविधिमा उत्रिए त्यो गैरकानुनी हो । नागढुंगामा त्यस्ता केही अवाञ्छित गतिविधि भएको सूचना आएको छ । घटना विवरण बुझ्ने काम हुँदै छ । दोषी देखिए कानुनी कारबाही हुनेछ, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *