‘अपरिचित देखे तुरुन्त सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध’

ललितपुर। गोदावरी नगरपालिकाले अपरिचित व्यक्ति गाउँ या टोल पसेको देखेमा त्यस्ता व्यक्तिलाई रोक्न तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरेको छ। विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको जोखिम मुलुकमा बढ्दै जाँदा एक महिलाको समेत मृत्यु भएको समयमा आफू पनि सुरक्षित रहने र आफ्नो गाउँ या समुदायलाई पनि सुरक्षित बनाउन नगरपालिकाले उक्त सूचना जारी गरेको हो।

नगरपालिकाले जारी गरेको सूचनामा चिया र मदिरा पसल पूर्णरूपमा बन्द गर्न आह्वान गरिएको छ। किराना, तरकारी तथा खाद्यान्न पसल बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न दिइने बताइएको छ। आवश्यक कामकाजबाहेक एक गाउँटोलबाट हिँडडुल गर्न र सार्वजनिकस्थलमा जमघट नहुन सूचनामा अनुरोध गरिएको छ।

गोदावरीका औषधि पसल २४सै घण्टा खोल्न सकिने र कृषि तथा खेतीपातीसम्बन्धी कार्य गर्दा भीडभाड नगरी थोरै सङ्ख्यामा सामाजिक दूरी कायम राखी गर्न र गराउनसमेत अपिल गरिएको छ।

आज र भोलि कोरोना परीक्षण हुँदै

गोदावरीमा आज र भोलि दुई दिन कोरोना परीक्षण गरिने भएको छ। कारोना महामारीको समयमा अग्रपङ्क्तिमा रहेर काम गरिरहनुभएका स्वास्थ्य, सञ्चार र सुरक्षकर्मी, राहत वितरण कार्यमा खटिनुभएका व्यक्ति, औषधि पसल र फोहरमैला व्यवस्थापनमा कार्यारत मानिसलगायत कोभिड–१९ प्रभावित जिल्लाबाट आएका व्यक्ति, एम्बुलेन्स चालक, वडामा आएका नयाँ व्यक्ति, तरकारी बिक्री वितरणमा संलग्न व्यक्ति तथा जनप्रतिनिधिको आरडिटी र पिसीआर दुवै माध्यमबाट परीक्षण गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *