कोरोना भाइरसको संवेदनशीलतामा गम्भीर हुन आवश्यक छः मिनेन्द्र रिजाल

काठमाडौं। कांग्रेस नेता डा. मिनेन्द्र रिजालले कोरोना भाइरस महामारीको संवेदनशीलतामा गम्भीर हुन सरकारसँग आग्रह गरेका छन्। कोरोना प्रभावले भविष्यमा ल्याउन सक्ने आर्थिक संकटको विषयमा सचेत हुन समेत आग्रह गरे। उनले कोरोना भाइरसको संकट गहिरियो भने नेपाले ठूलो आर्थिक संकट व्यहोर्नु पर्नेतर्फ सचेत गराए। उनले त्यसकारण सरकार बेलैमा यस महामारीप्रति गम्भीर हुने आवश्यक रहेको बताए।

उनले भनेका छन्, ‘महामारीको संकट गहिरियो भने नेपालमा १६० अर्व सानो कुल ग्रहास्त उत्पादनको हाहाकार हुने छ। विप्रेषणको आम्दानी १६० अर्व घटने छ। यसरी हामीले सोचे भन्दा बढी ३ खर्व सानो आकारको खर्च गर्न सक्ने आम्दानी हुने छ। त्यो भनेको प्रति व्यक्ति वार्षिक १० हजार खर्च गर्न सक्ने आम्दानी घटने छ।’

अर्थमन्त्रीले महामारी पछि एक प्रतिशत गरिबी बढ्ने भने पनि ५ प्रतिशत भन्दा बढी मानिस गरिबिको रेखामुनि पुग्ने नेता रिजालको भनाइ छ। महामारीको संकट गहिरिने हो भने २५/३० वर्षमा मेहनत गरेर गरिबिको रेखा माथि उठेका नेपाली फेरि गरिबिको रेखामुनि जाने उनले बताए। नेता रिजालले राष्ट्रपतिले तीन घण्टा लगाएर प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि असन्तुष्ट व्यक्त गरे।

उनले भने, ‘संसद्को सुरक्षा एक व्यक्तिको सुरक्षा होइन। एउटा माउरीलाई सङ्क्रमण भयो भने घारभित्र पस्दा पुरै घारमा फैलिन्छ। त्यसो भयो भने संसद्लाई क्वारेनटाइनमा राख्नुपर्छ। सरकारको संसद् प्रतिको जिम्मेवारी जनता प्रतिको जिम्मेवारी पुरा गर्ने ठाउँ हो। यो ठाउँमा तीन घण्टाभन्दा बढी थुनेर राख्ने। यो भन्दा बढी सरकारको संवेदनहीनता केही पनि हुँदैन।’

उनले सीमा अतिक्रमणको बेलामा ल्याइएको नीति तथा कार्यक्रममा सीमा अतिक्रमणको विषयलाई प्राथमिकता नदिए पुच्छरमा समेटिएको प्रति आपत्ति जनाए। सरकारको नीति तथा कार्यक्रम हेर्दा अतिक्रमित सीमा कागजमा मात्र फिर्ता ल्याउने र साँचीकै फिर्ता ल्याउन नसक्ने तर्क गरे। वर्तमान समय आज बाच्न गाह्रो भइरहेको बेला सरकार २०९९ को लक्ष्य बोकेर हिँडिरहेकोमा उनले आश्चर्य व्यक्त गरे।

उनले भने,’ आज बाच्न गाह्रो भएको छ। कोरोनाबाट जनता आहत भएका छन्। सरकार २०९९ मा नेपाल समुन्नत राष्ट्र बन्ने कार्यक्रम ल्याएर आउँछन्। यो भन्दा ठूलो संवेदनहीनता के हुन्छ ?’ नेता रिजालले कोरोना महामारीका बेला प्रधानमन्त्रीलाई जनताको विवेकको अपमान नगर्न अनुरोधसमेत गरे। आइतबार प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै उनले बरु प्रधानमन्त्रीले ज्ञानी भएर कोरोना सङ्क्रमण विरुद्ध लड्नुपर्नेमा जोड दिए।

‘प्रधानमन्त्री ज्यू, जनताको लागि ज्ञानी बन्नुस्। जनताको विवेकको अपमान नगर्नुस्। त्यसका लागि हिजोका योजनाहरू सबै बिर्सौँ। सुरुवात गरौँ आजका दिनमा के गर्नुपर्छ,’ उनले भने, ‘अलपत्र नागरिकको उद्धारका लागि के गर्ने, राहत वितरणका लागि के गर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश ल्याउन के गर्ने भन्ने विषयमा योजना बनाऊँ, काम गरौँ।’

नेता रिजालले कोरोना सङ्क्रमणमा परेको नागरिकको स्वास्थ्य उपचार कसरी गर्ने, कृषि र पर्यटन क्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरेर काम गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *